बाढीले सिक्लेस हाइड्रोमा ३० करोड बढीको क्षति


     एभरेस्ट आवाज    
     असार ३ गते २०७८ मा प्रकाशित




पोखरा । अविरल वर्षाका कारण मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रा.लिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको आयोजनाले जनाएको छ ।

कास्कीको मादी गाउँपालिका–१ स्थित मदक्यू खोलामा १३ मेगावाट क्षमताको सो आयोजनामा असार १ गते आएको बाढीले १४ किलोमिटर ट्रान्समिसन लाइन लगायतका अन्य संरचनामा क्षति पुग्दा विद्युत उत्पादन बन्द भएको छ ।

बाढीले आयोजनाको ‘स्विचयार्ड’ बगाएको छ भने बाँधमा व्यापक क्षति पुगेको सञ्चालक किरण केसीले जानकारी दिए । आयोजनाको इलेक्ट्रिक मेकानिकल सिभिल संरचना, विद्युत प्रशारण लाइन लगायतमा क्षति हुँदा ३० करोड बढीको क्षति भएको उनको दावी छ ।

त्यस्तै आयोजनाको पावर हाउसमाथिबाट अझैपनि पहिरो खसिरहेकाले पावर उच्च जोखिममा रहेको उनले बताए ।

सञ्चालक केसीले भने, ‘आयोजनामा बाढीले व्यापक क्षति गर्दा वर्षाको समयमा पुनः सञ्चालनमा ल्याउन थप चुनौती थपिएको छ, आयोजनालाई पहिलाकै अवस्थामा ल्याउनका लागि करिव वष दिनसम्म लाग्न सक्छ । ’

आयोजनासम्म जाने सडक ठाउँ–ठाउँमा बाढीले बगाउँदा सामान ढुवानी गर्न समेत कठिन हुने देखिएको छ ।

गत २०७४ चैतबाट केन्द्रिय प्रशारण लाइनमा जोडिएको आयोजनामा बाढीले क्षति पुर्याउँदा कास्कीको मादी गाउँपालिका वडा १ सिक्लेसका बासिन्दा अध्यारोमा बस्न बाध्य छन् । सिक्लेसमा केन्द्रिय प्रशारण लाइनको हालसम्म पनि पहुँच पुग्न सकेको छैन् ।

सोही बाढीका कारण मदक्यू खोला जलविद्युत आयोजना सहित अन्य तीन वटा आयोजनामा समेत क्षति पुर्याएको छ ।

स्थानियबासी ६४ वर्षिय कुलबहादुर गुरुङले भने –‘बाढीले सिक्लेस हाइड्रो पावर त बगायो–बगायो हामीलाई कहिलेसम्म अन्धकारमा राख्ने हो थाह भएन, यति धेरै पानी र बाढी आएको अहिलेसम्म थाहा थिएन् ।’ आयोजना बन्द हुँदा दैनिक साढे १२ लाख घाटा हुने पुगेको आयोजनाले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।