रुपा सुनार र सामाजिक डिस्कोर्ष


     एभरेस्ट आवाज    
     असार १५ गते २०७८ मा प्रकाशित



उपप्रा. रामप्रसाद सुवेदी

अहिले कोरोनाको महामारी भएको वेला राज्यका मिडियाहरुले सामाजिक डिस्काेर्ष (बहस)का लागि अर्काे मसलेदार बस्तु पाए, रुपा सुनारको “घरभेटी” काण्ड । काठमाण्डाैं मात्र हैन नेपालभरि यस्ता हजारौें रुपाले भोगेका भन्दा बढी घटना घटिरहेका छन्, तर ती सबै त्यसै विलाएर गएका छन् । तर, यो घट्ना “रुपा” भएकै कारणले बाहिर आएको हो भन्नुमा कुनै अत्युक्ति नहोला ।

एक थरिले क्यावात “रुपा” भनेर नारा र जुलुस गरिरहेका छन् भने अर्का थरीले घरभेटीलाई अन्याय भयो भनिरहेका छन् । अनि आफूलाई कर्मले भन्दा जातले म ठूलो हुँ भन्नेहरु कतै रुपाका कारणले बर्षौ देखि हामीले तथाकथित पाएको अधिकार हनन् हुने हो कि भनेर चिन्तित भएको विचारको प्रवाह गरेको देखिन्छ भने अर्काथरीले कतै रुपाका कारणले हामी माथी जान पाइन्छ र घरभेटीका कारणले अन्याय भयो भनेर कराइरहेका छन् ।

२०६८ सालको जनगणनाका अनुसार नेपालमा सबैभन्दा बढी क्षेत्रीहरु १६.६%, ब्राह्मण १२.१८%, नेवार ४.९८९%, रुपाले प्रतिनिधित्व गर्ने कामीको, ४.७५%, दमाई १.७५%,सार्कीको १.४१% रहेको छ । अरु धेरै तराइमा छुनै नछुने भनेर किनारा लगाइएका दलितहरु पनि छन् त्यो भन्दा पनि पहाडे दलितमा विशेषतः कामी दमाई सार्कीलाई लिएको पाइन्छ । जनसङ्ख्याका दृष्टिकोणले नेवार र कामी लगभग बराबर रहेका छन् ।

नेपालमा जातियताको विभेद रुपाले भनेको भन्दा कम छैन, बरु त्यहाँ भन्दा बढी नै होला । दलितदलित वीच अझ बढी रहेको छ । गत वर्ष पर्वतमा कामीको भन्सा दमाइले छोयो भनेर कामीले दमैलाई कुटी कुटी मारेका थिए । जसरी बाहुनको घरमा कामीले बाहिर बसेर खान्छ, त्यसरी दमैले कामीको घरमा भित्र पस्न पाउँदेन । दमैका अगाडि कामी म ठूलो जातको भनेर मख्ख परेर बसेको हुन्छ । रुपाले त्यहाँबाट एउटा अभियान सुरु गर्नु पर्दछ । पहाडे दलितमा उनी उच्चमा पर्दछिन् ।

अर्काे कुरा ठूला जातीबाट दलित अत्यन्तै वञ्चिनमा परेको कुरा त जगजाहेर नै छ । एकथरी नेवारले अर्काे थरी नेवारलाई वञ्चित गरेको हुन्छ । यो बाहुन र क्षेत्रीमा पनि रहेको छ । कसैले जन्मजात हामी ठ्रूलो भनेर अर्कालाई वञ्चित गरेका छन् । धेरै कारणले नेपालमा दलितहरु जातीय वञ्चनमा परेका छन्, समाजको विकाशको क्रममा जहाँ ठूला जातीहरुले राज्यबाट बर्दान स्वरुपमा सम्पत्ति प्राप्त गरे उनीहरुले आफँु बसेका ठाउँमा भाँडा बनाउन कामीलाई,सुन कमाउन सुनारलाई, कपडा सिलाउन र विवाहमा बाजा बजाउन दमैलाई छालाको दाम्लो बनाउन र सिनु तरलाउन सार्कीलाई लगेर थोरै छेउछाउका बादरले खाने आफुले कमाउदा उत्पादन नहुने जमिनका केही टुक्रा दिएर राखे र ती दलितहरु आफुलाई खान नपुग्ने भएर जीवनभर उनका सन्तान र दरसन्तान सवैले ठूलाजातीको नोकर भएर बसे ।

अझै पनि नेपालमा दलितले छोयो भने छिटो हाल्ने, उसले खाएका भाँडाहरु बाहिर घोप्टाएर सुकेपछि मात्र भित्र लाने चलन छ । व्यक्ति स्वंनै संस्कार हो, संस्कृति हो, दर्शन,आदर्श, मूल्य र मान्यता हो । काठमाण्डाँै कि घरभेटीले जातका कारणले कोठा नदिएको मा उनको दोष पनि के नै मान्ने र किन कि उनले संज्ञानात्मक रुपमा जे जानिन्, भावनाले त्यस्लाई त्यही नै अनुभव गरिन र अहिले आफ्ना हातमा व्यवहार आउदा कृयात्मक रुपमा त्यही काम दोहो¥याएकी छन्, जे उनलाई उनका बा र आमाले सिकाएर गए अनि समाजले देखाएको छ । जातिय विभेदको अन्त्य भनेर कानुनले भनेको छ, तर संस्कार र आचरण र भावनामा परिवर्तन नभै कानून्ले केही काम गर्दैन भन्ने कुरा लगभग ६० वर्षे बुढो मुलुकी ऐन हुँदा पनि यो जस्ताको तस्तै रहनु ले संकेत गरेको छ ।

यो डिस्कोर्षको मैले स्व—परिक्षण(अटोइथ्नोग्राफी) का रुपमा लिँदा म पनि त्यो पात्र हुँ त्यसलाई भोगेको देखेको र अनुभव गरेको छु । म पनि जीवनको जीउने क्रममा कसैवाट वञ्चितमा परे भने मैले पनि कसैलाई वञ्चन गरेको छु । म जहाँ जन्मे त्यहाँ त्यही थियो जो रुपाले भोगिन् र घरभेटीले गरिन् । दलितहरु अत्यन्तै दयनिय रुपमा थिए, उनको सम्पत्तिको रुपमा ससाना मकै लगाउँने फोहोटाहरु थिए, बर्षै भरी अरुको हलो, मुजरी गरेका हुन्थे । कहिले काहीँ घरमा आउँदा पलास्टिकमा ढिडाको डल्लो पोको पारेर ल्याएर तरकारीको झोल दिनुन भनेर त्यसैमा डोवेर खाएको पनि मैले देखें । घरमा गाइभैसी मरेमा केही खेतालो वोलेर खुसीसाथ डोकामा बोकेर लिएर जान्थे । फलामखानी भन्ने गाउँछ(अहिले महासिला नाम भएको) त्यहाँका दतिहरुले धेरै खान्छ भनेर तीनिहरुलाई “आफ्रे” नामाकरण गरिएको थियो, धेरै खान्छ भनेर सकभर तीनिहरुलाई ज्यालामुजुरीमा काम दिन पनि विभेद गरिन्थ्यो ।

हलि लगाउदा अनौको पैसा भनेर केही लान्थे तर वर्षौ सम्म त्यो तिर्न नसकेर बधुवाको रुपमा साहुकहाँ बाधिएर बसेका हुन्थे । यसरी वर्षौ जोतेको मुस्किल्ले ढेड दुई मुरीमात्र धान मुजुरीका रुपमा लिएर जान्थे । म हलो छोड्छु भनेमा साहुले मैले दिएको अनौको पैसा फिर्ता ले भन्दथ्यो ऊसंग तिर्ने क्षमता हुँदैनथ्यो अनि फेरी जोत्दथ्यो, ऊसको छोराले पनि त्यही जोतिरहन बाध्य हुन्थ्यो । मेरा छोरा छोरीहरु हुर्कलान, पढ्लान केही सिप सिक्लान र देशको उच्च पदमा पुगेर केही गर्लान भन्दा पनि कहिले मेरो छोरो ठूलो होला र विष्टको हलो जोतेर मलाई सुख देला भन्ने शब्द उनीहरुका मुखबाट आउँदथ्यो । “मनुस्मृतिले” दिएको शिक्षाले उच्च जातकारुले आफुलाई ईश्वरको बरदान भनेर जातीय सत्ता हडपेर बसेका हुन्थे ।

चाणक्य नीतिमा एउटा स्लोक छ कस्य दोषः कुले नास्ति व्यधिना के न पिडिताः । व्यसनं केन न प्राप्तं न कस्य सौख्ँयं निरन्तरम् ।। कस्को कुलमा दोष छैन र रोगले कसलाई पीडित गरेन, कसले दुःख पाएन, सुखैमात्र यो संसारमा कसलाई छ अर्थात् निरन्तर सुख कसले पाएको छ । जात र लिङ्गका कारणले विभेद गर्ने चलन पूर्वमा र वर्णका कारणले विभेद गर्ने पश्मिाहरुले परापूर्वकाल देखि नै अपनाउँदै आएका छन् । भारतको तामिल नाडुमा उच्च जातकाले मनुस्मृतिलाई अगालेर गरेको जातीय विभेदका कारणले अन्नाडिएमके पार्टी नै जन्मेको हो । धर्म र राजनीतिको रुपमा मञ्चमा जातीय समानताको वकलात गरिन्छ अनि घरमा गए पछि सगै गएको दलितले बाहिर बसेर पानी मागेको हुन्छ र खाएपछि भाँडा धोएर घोप्टाएर जान्छ । अहिले नेपाललमा धेरै आर्य मध्येका दलितहरुले हिन्दुधर्म परिवर्तन गरेका छन् त्यस्को कारण उनीहरुलाई जातीय विभेदले निचोरेर त्यसबाट उन्मुक्ति प्राप्त गर्नका लागि हो ।

अहिले वैदेशिक रोजगारले दलितहरुको केही आत्मवल बढेको छ । हिजो जस्तो दिनभरि जोतेर एकपाथी धान निवेक लिएर जाने स्थिीतिमा अलि परिवर्तन आएको छ । कि अहिले त्यसरी गाउँमा मजदुर पाइदै पाइदैनन् पाएपनि ज्यालामा ठगिएको पाइदैन । राज्यको समावेशी र समाहित नीतिले केही शशक्तिकरण भएको पाइन्छ । अझैपनि दलितहरुले शिक्षालार्ई प्राथमिकता दिनु भन्दा भारत र खाडीमुलुकमा मजदुरी गर्न लर्काे लाउने गरेको पाइन्छ । राज्यले आरक्षणका नाममा दिएको कोटाहरुमा कि दतिबाट निवेदन नै पर्दैन परेपनि सामान्य पासमार्क नल्याएर कोटा खाली भएको देखिन्छ ।

नेपाल सरकारको चच्च पद, विश्वविद्यालयको प्रोफेसर जस्ता पदमा दलितका नाम सुन्न गाह्रै परेको हुन्छ । अर्कालाई दोष थोपारेर आफु पानी माथीको ओभानो वन्नुभन्दा दलितले आफुलाई सशक्तिकरण गरेर राज्यले दिएका सुविधाको भरपुर उपयोग गरेर ठूला जाती भनेर वञ्चन गर्ने हरुलाई जवाफ दिनका लागि नीतिनिर्माणका तहमा पुग्नु पर्दछ । आफँुभित्रको जातिय विभेदको पहिला आँफैले अन्त्य गर्नुपर्दछ । ठूला जातीले आफ्नो सोचमा परिवर्तन गरेर समानताको संस्कार र आचरणलाई विस्तारै अगाल्दै जाने गर्दपर्दछ । हिन्दु धर्मको वकालत गर्ने उच्च जातीले पनि घरमा गएको दलितलाई भित्रै आउ भनेर सगै बसेर खाने आँट गर्नु पर्दछ । यसो गरेमा कसैले कसैलाई दोष दिएर आत्माको सन्तुष्टिको अनुभव गर्न पर्ने थिएन ।

(लेखक सुवेदी पृथ्वी नारायण क्याम्पस पोखराका उपप्राध्यापक हुन् । याे उनको व्यक्तिगत विचार हाे । – सम्पादक)


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।