राष्ट्रिय तीज गीत प्रतियोगितामा ७० प्रतियोगि सहभागि हुने


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०७८ मा प्रकाशित




पोखरा । हाम्रो घरको आयोजनामा हुन लागेको खुल्ला राष्ट्रिय तीज दोहोरी गित प्रतियोगिताको तयारी पूरा भएको छ ।

नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बन्दै गएको क्लव हाउस प्रयोगकर्ताहरुको समूह ‘हाम्रो घर’ले आयोजना गर्न लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ

शुक्रबार र शनिबार क्लव हाउस एपको हाम्रो घर समूह मार्फत आयोजनामा हुन लागेको प्रतियोगितामा ७० जनाको सहभागिता रहने प्रतियोगिता संयोजक रमेश अधिकारीले जानकारी दिए ।

ग्लोबल कन्सल्ट सिड्नी अष्ट्रेलियाको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता शुक्रबार अपरान्ह साढे ४ बजे र शनिबार पूर्वान्ह साढे ११ बजेबाट प्रतियोगिता सञ्चालन हुने संयोजक अधिकारीले बताए ।

क्लव हाउस मार्फतनै आयोजना हुने प्रतियोगितामा शुक्रबार छनोट चरणमा छनोट चरणबाट छानिएका प्रतिस्पर्धीले शनिबार फाइनल चरणका लागि प्रतिस्पर्धा गर्ने गरी कार्यक्रमको तयारी गरिएको प्रतियोगिताका सह संयोजक राम कंडेलले जानकारी दिए ।


सहभागीले प्रतियोगितामा जोडीगत रुपमा प्रस्तुत गरेको प्रस्तुतीका आधारमा छनोट चरण, उट्कृष्ट १६, उट्कृष्ट ८, उत्कृष्ट ४ हुँदै प्रतियोगिताको प्रथम, द्वितिय, तृतिय, सान्त्वना घोषणा गरिने उनले बताए ।


यस्तै प्रतियोगितामा विषेश प्रतियोगिलाई समेत पुरस्कारको व्यवस्था गरिएको उनको भनाई छ ।

प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना र उत्कृष्ट पुरस्कार स्वरुप क्रमश २५ हजार, १५ हजार, १० हजार र ५–५ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रस्पिर्धीले निर्णायकले दिएको विषय वस्तुमा आधारित भएर प्रस्तुती राख्न पर्ने छ ।

यस्तै प्रतियोगितामा लोक तथा दोहोरी गीत गायक रबिन लामिछने संयोजकत्वमा लोक तथा दोहोरी प्रतिष्ठान गण्डकी प्रदेशकी महिला उपाध्यक्ष माया गुरुङ, लोक तथा दोहोरी प्रतिष्ठान गण्डकी प्रदेशका पूर्व कोषाध्यक्ष बिजय केसी र लोक तथा दोहोरी गायक शुरेस रावलको निर्णायक मण्डल रहने आयोजकले बिहीबार एक कार्यक्र्रमका विच घोषणा गरेको छ । साथै विभिन्न चर्चित कलाकारहरुको प्रस्तुतीलाई पनि समावेश गरिने जनाइएको छ ।

प्रतियोगितालाई सफल बनाउन डी क्याफे सिड्नी (अष्ट्रेलिया), एनआरएनए यूवा उप–संयोजक (एनएसडब्ल्यू) राजेश टण्डन (अष्ट्रेलिया), सोखिन न्यौपाने (अष्ट्रेलिया), लाली गुराँस रेमिटेन्स अष्ट्रेलियका गोकुल भण्डारी, अस्मिता अर्याल (अष्ट्रेलिया), पशुपति ढकाल (न्यूजिल्याण्ड) सह–प्रायोजकको रुपमा जोडिएका छन् । मिडिया पार्टनरमा एभरेस्ट एफएम पोखरा र अनलाइन पार्टनरमा एभरेस्ट आवाज डटकमले साथ दिएको छ ।

हाम्रो घरले नियमितरुपमा लोक दोहोरी गीत संगितलाई प्रर्वद्धन गर्ने उद्देश्यले नयाँ प्रतिभाहरुको प्रस्फुटन गराउने डिजिटल प्लेटफर्म उपलब्ध गराउँदै आएको संयोजक तथा समूह क्रियटर रमेश अधिकारीले जानकारी दिए । उनले यस्तै किसिमका प्रतियोगिता यसअघिपनि सञ्चालन गर्ने गरिएको उनले भने ।

उनले भने, ‘प्रतियोगिता मार्फत समसमायिक विषय वस्तु उजागर गर्ने र अन्र्तनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेका हौं ।’

प्रतियोगितालाई सफल पार्न रमेश अधिकारी संयोजक र राम कंडेल सहसंयोजक रहने गरि १९ जनाको प्रतियोगिता मूल आयोजक समिति गठन गरि भब्यरुपमा सम्पन्न गर्ने गरि एक महिनाअघिदेखि थालिएको थियो ।


प्रतियोगिता सम्पन्न गर्न झण्डै १ लाख ५० हजार खर्च लाग्ने आयोजकले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।