पर्वतमा आजदेखि निषेधाज्ञा लागू


     एभरेस्ट आवाज    
     माघ ५ गते २०७८ मा प्रकाशित




कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिएपछि पर्वतमा निषेधाज्ञा जारी गरिएको छ।

कोभिड संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि माघ ५ गतेदेखि लागु हुने गरी स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिएको हो।

जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय पर्वतले माघ ५ देखि लागु हुने गरी निषेधाज्ञा आदेश जारी गरेको हो। पर्वतमा कोरोना संक्रमण फैलिएकाले शैक्षिक संस्था होटल, सेवा प्रदायक निकाय, डिपार्टमेन्टल स्टोर्स, धार्मिक स्थल, यातायात लगायतका क्षेत्रमा फरक फरक क्षेत्रमा समय तोकेर आदेश जारी गरिएको छ।

अर्को आदेश जारी नभएसम्मका लागि जारी भएको निषेधाज्ञा आदेशमा शैक्षिक क्रियाकलाप सिनेमा हल लगायतका क्षेत्रहरू माघ १५ सम्म पूर्णरुपमा बन्द गर्ने आदेश जारी गरिएको उल्लेख छ।

मठ मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप माघ २९ सम्म बन्द गर्न आदेश जारी भएको छ। होटल व्यवसाय, डिपार्टमेन्टल स्टोर्स, सार्वजनिक सेवा प्रदायक निकायमा सेवाग्राहीको अनिवार्य दुवै डोज लगाएको खोप कार्ड देखाएर मात्र सेवा दिन आदेश जारी भएको छ।

पर्वतमा पछिल्लो समय एन्टिजेन परीक्षणलाई तीव्रता दिइएसँगै परीक्षण गरिएकामध्ये झण्डै ७० प्रतिशतमा संक्रमण देखिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।