पोखरा देख्न जति सुन्दर थियो त्यतिनै जीवन निर्वाहको निमित्त अत्यन्त कठिन र कष्टकर थियो । राजा सिद्धिनारायण शाहले उद्योग ब्यवसाय र ब्यबस्थित सहर बसाउन भक्तपुरदेखि ल्याएर बसाएका नेवार समुदायहरुसमेत ब्यापार ब्यबसाय पछि कृषिमै निर्भर थिए । तर पोखराको अधिकांश जमिन ग्रेग्यान, पत्थरिलो, बलौटे भएको तथा भरपर्दो सिंचाईं ब्यबस्था हुन नसकेका कारण कृषिबाट उँभो लाग्नु परै जाओस् प्राण धान्न धौ धौ हुन्थ्यो ।
पोखरा पश्चिमका किसानहरुले मकै,कोदो, घैय्या आदि बाहेक नगदेबालीको रुपमा काँचो पातको खेती गर्थे । तत्कालीन समयमा चुरोट/सिगार आदिको कच्चा पदार्थ मानिने काँचो पात त्यतिखेर सभ्रान्तहरुको अम्मल तमाखु बनाउन प्रयोग हुन्थ्यो भने सर्वसाधारणहरु पात कुटेर धुलो बनाएर चिलिममा भरेर चक्मक फलाम रगडेर झिल्का निकाली झुलोमा सल्काएर पिउँथे । पिँडी, पर्खाल, चौताराको छपनीमा ढुंगाले कुटेर नरम बनाएर ओंठमा च्यापेर स्वाद लिने अर्का थरीका पारखीहरु थिए।
काँचो पात टिपे पछि सुकाएर मुठा मुठा बनाएर किसानहरु साँघुमुख बजारमा बोरा ओछ्याएर बेच्न बस्थे । तमाखु बनाएर बेच्ने ब्यबसायीहरु र घरायसी कक्कड, भुसाहा पिउने र ओठमा च्याप्नको निमित्त ग्रामिण क्षेत्रकाहरु किनमेल गर्नका लागि चहलपहल हुने गर्थ्यो भने खुदो किन्न, तमाखु बनाउनेहरु, घरायसी प्रयोगमा चाहिनेहरु किसानकोमै पुग्थे । कति गरीवहरुको रोजगार किसानहरुकोमा किनेर गाग्रीमा बोक्दै घर घरमा मानो, पाँच मुठी बेचेर घर चल्थ्यो ।
सेती पश्चिम तुलनात्मक रुपमा मलिलो भएकाले त्यहाँ काँचो पातको खेती र सेती पूर्व धेरै सिचाईं गर्नु नपर्ने, बलौटे माटोमा समेत खास फरक नपर्ने उखु खेती हुन्थ्यो । उखु काट्ने, पेलेर रस निकाल्ने ठुला ठुला ताउलाहरुमा रस पकाएर खुदो बनाउने प्रकृया महिनौंसम्म चल्थ्यो । जमिन खनेर बनाएका विशाल चुल्हाहरुमा मुढाहरु जोतेर रसेटो तयार गरिन्थ्यो । रस उम्लेर खेर नजाओस, ज्यादा पाकेर गुणस्तर नबिग्रियोस भनेर किसानहरु बारिमै रसेटोको नजिक रातभर जाग्राम बस्थे । तातो खुदो पिउन पाउने लोभमा केटाकेटीहरुसमेत उनिहरु सँगै रात कटाउँथे । उखु पेले पछिको खोयाले झण्डै वर्ष दिन पानी तताउने, बस्तुलाइ कुँडोपानी गर्न दाउराकै काम गर्थ्यो ।
अन्य बालीमा जस्तो दैनिक सिंचाईं गर्न नपर्ने हुँदा नजिकका फिर्के, बुंलौदी, काहुंखोला, सोता खोल्सा खोल्सी तथा पोखरीहरुबाट पानी उभाएर पनि यिनिहरुमा सिंचाईं गरिन्थ्यो । हरेक पाँच मिनेटको दुरीमा पोखरामा ठुला ठुला पोखरी हुने हुनाले हावाको आर्द्रता, माटोको चिस्यान तथा गाग्री उभाएर बोकेरै भएपनि बालीमा छर्कन भने अभाव थिएन तर शारिरिक कष्ट भने असाध्यै थियो ।
यसैगरी पोखराको सुदुरपूर्व तालबेसी, ढोडबेसी, मालेपाटन उखु र उखुजन्य उत्पादनको मुख्य केन्द्र थियो । उखुका लाक्रा बिक्रि हुने सहर बजार नजिक नपर्ने हुँदा उनीहरु उखु पेलेरै खुदो, गुड, चाकु उत्पादन गरेर बजार पुर्याउंथे । तेल पेल्ने, उखु पेल्ने, निबुवा पेलेर चुक अमीलो बनाउन कोलको प्रयोग हुन्थ्यो । पछी भारतबाट उखु पेल्ने नयाँ उपकरण आयो । त्यसलाइ पनि मानिसहरु वा हलगोरु नारेर पेल्ने मेसीनका चक्का घुमाउनु पर्थ्यो, तर काम भने महिना दिन लाग्ने २/३ दिनमै भ्याइने भयो । लेखक दुई महिना अघि त्यतैतिर गुणस्तरिय खुदो पिउनुका साथै साथीभाइ, ईष्टमित्र पनि भेटौं भनेर पुगेको थिएँ । अहिले त बिजुली, डिजेलबाट चल्ने अत्याधुनिक मेसिनबाट उखु पेल्न थालिएछ ।
तर “गाउं सहर झर्यो , बल्ल सडक गाउं उक्ल्यो” भनेझैं उखु खेती ९० प्रतिसत घटे पछि अत्याधुनिक उखु पेल्ने मेसिन गाउँ पुगेछ । उखुमा गिमरा, चिनिया र काठे तीन जातिमा विशेषगरी खेती गरिन्थ्यो । गिमरा कालो र चिनिया उखुका लाक्राहरु घर/घर, चोक/चोक तथा स्कुल/स्कुल पुर्याएर सयौं भूमिहीन गरीव गुरुवाहरुको रोजीरोटी चल्थ्यो । शिवरात्रीको धुनीमा उखु पड्काउने पोखराको परम्परा हो । उति बेला स्थानिय उत्पादनकै उखु प्रयोग हुन्थ्यो भने अहिले लाखौं रुपैयाको भारतिय ल्याइने गरिन्छ । उखु विशेषतः खुदो, चाकु, गुड, तमाखु आदिकै प्रयोगमा आउंथ्यो । उहिले ढुंगेसाउंमा खाउँला उखु किनेर, लाम्ला मया चिनेर” तन्देरी, तरुनीहरु रातभर ढुंगेसाउंको मेलामा रन्काउंथे ।
बाटुलोचौरका नास्पाती, स्याउ(हिमाली हैन मध्य पहाडमा छुट्टै नास्पाती जस्तो रुपको स्याउ हुन्थ्यो) सुन्तला, बैदामका मुला, फुलबारी मणिपालका बदाम तथा बिजयपुर, कमलपोखरी, रुपाका गुंदे, मैदी आदिका बाम, भोटी, फगेटा आदी माछा शिलमा उनेर झुत्ता झुत्ता बनाएर घरघरमा पुर्याएर पनि सयौंको जीवन निर्वाह हुन्थ्यो । बाटुलेचौरका सुन्तला मोहरमा दस दाना छानीछानी पाइन्थ्यो भने एक दाना चाख्न फिरीमा पनि पाइन्थ्यो । त्यस्तै गिमरा, काला चिनिया उखुका लाक्रा दश पैसादेखि पच्चीस पैसासम्म साइज हेरेर पाइन्थे ।
माघे सक्रान्तिमा ढुंगेसांघुको मेलामा नदीमा नुहाएर खुदो मुछेको चिउरा, तरुल, खुदो जमाएर बनाएको चाकु, गुड, एक छेउमा बसेर खाइन्थ्यो । माघे संक्रान्तिको एक/दुई दिन अघिनै गाउँ गाउँबाट खुदो, गुड, चाकु किन्न गाउँलेहरु पोखरा ओइरिन्थे । अनदीको चामलमा खुदोको रस हालेर बनाएको लट्टे(कतै चाम्रे पनि भन्छन) को स्वाद अहिलेका केटाकेटीको भाग्यमै सायद छैन । तर गुल्मीको रिडी बजारमा भने अझै पनि गुड र खुदो मज्जैले पाइने रहेछ , मैलेसमेत आधि दर्जन गुडका चक्का किनेको थिएँ।
पोखरा पश्चिमको काँचो पात र पूर्वको उखुको खुदो पकाएर बनाएको तमाखु काठमाण्डौ, पाल्पा लगायत सहरहरु र बस्तीहरुका संभ्रान्तहरुका घरमा पुग्थे ।कौसीमा काम्लो ओछ्याएर हुक्का गुड्गुडाउनु तात्कालिन बडाहाकिम, सुब्बा, खरीदार, बहीदार, राइटर, तहबिलदार, जिम्वुवाल, मुखिया तथा एकमानो खान पुग्ने गोठमा हलगोरु, लैनो, बकेर्नो भैंसी पाल्न सक्ने धनाढ्यहरुको पहिचान थियो । राजा महाराजहरुका दरबार तथा बंगलाहरुमा चिलिम, तमाखु भर्ने, सल्काउने, हुक्का, नली आदिको सरसफाई गर्ने, पगारेर टक्राउनका लागि हुक्के भन्ने दरबन्दीनै हुन्थ्यो । धनी र हुनेखानेका घरमा तमाखु भर्ने काम आसे पासे ,चाकरीदार, श्रीमती, बुहारी आदिको दैनिकीनै हुन्थ्यो ।
यसरी तात्कालिन पोखरा र सेतीको वारीपारीको सम्बन्धको सेतु भनेको उखु र कांचो पात थियो भने पोखराको अर्थतन्त्रको मुल आधार पनि त्यहि थियो । हामिले न ति परम्परागत अर्थतन्त्रका आधारहरुलाइ परिष्कृत गर्दै, सुधार गर्दै, सहज बनाउँदै पोखरालाइ समृद्ध बनाउन सक्यौं, नत पोखराको मौलिकतामा तादात्म्यता राख्ने पर्यटन आदिको दिगो विकास तर्फ अगाडी बढन सक्यौं । जानेको भए, गम्भीर भएको भए, यिनै हाम्रा उखु र काँचो पात समेत पोखराको श्रीबृद्धिमा कोशेढुंगा सावित हुने थिए ।
मैले युरोप अमेरिकामा पुराना कारखानाहरु, जलविद्युत गृह, कृषि प्रणालीहरु, यातायातका साधन रेल, बस आदीहरु समेत जिवन्त राखेर पर्यटकहरुलाइ आकर्षणको केन्द्र बनाएको देखेको छु । झण्डै १०० रोपनीमा भिक्टोरियन शैली( बेयालतकी रानी भिक्टोरियाकी पालाको स्थापत्य कला) बनेको सलाइ काखाना थियो । चौतारा, पोखरीहरु थिए । परम्परागत कृषि, कपडा, चांदी, पित्तल ढलोट आदिका उद्योगहरु थिए । फुस्रेको विद्युत गृहसमेत स्याहार सम्भार गरेर पर्यटकलाइ भुलाउन सकिन्थ्यो । तर भौतिक बिकासको अन्धो दौडले हामीलाई कंहिको राखेन ।

(सिग्देल समसामयिक तथा ऐतिहासिक बिषयमा कलम चलाउने प्रखर बिश्लेषक/लेखक ,बिकास अभियन्ता तथा अन्वेषक हुनुहुन्छ । – सम्पादक )
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आज बागमती प्रदेशको राजधानी हेटौंडा आसपासका पर्यटकीय…






