सामुदायिक वन दिवसको उपलक्ष्यमा पोखरा १७ स्थित रातोपैह्रा सामुदायिक वन क्षेत्रमा बृक्षरोपण गरिएको छ ।
सो अवसरमा वन क्षेत्रको भिरालो पाखोमा २५० वटा बाँसका विरुवा रोपिएको हो । वडाअध्यक्ष राधिका शाही योगीले बाँसको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै मानव जीवनको हरेक सुख, दुःखमा बाँसको महत्व रहेको बताईन् । पोखरा १७ मा रातोपैह्रा र कालजरुवा दुईवटा सामुदायिक वन समुह रहेको उल्लेख गर्दै उनले चितवन जिल्लाबाट एक लाख रुपैयाको लागतमा खरिद गरिएका ५०० बाँसका विरुवा रोप्नका लागि प्रोत्साहन गरिएको जानकारी दिईन् । सेतीनदी र फुस्रेखोलाको किनारामा अवस्थित दुवै वन समुहको आयआर्जन र माटो संरक्षणमा बाँसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले रोपिएका विरुवा रोप्नु भन्दा पनि संरक्षण चुनौतीका रुपमा रहेको उल्लेख गरिन् ।
डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमल काप्mलेले वनको संरक्षण गर्नुभनेको वन्यजन्तु तथा समग्र जैविक विविधताको संरक्षण गर्नु भएको बताए । विश्वमा जनसंख्या वृद्धिसंगै वातावरणीय सन्तुलनमा परेको प्रभाव न्यूनिकरणमा सामुदायिक वनको भूमिका महत्वपूर्ण भएको वताउँदै उनले वनलाई उद्यमसंग जोड्नु पर्ने आवश्यकता औल्याए । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य एवम समुहका बरिष्ठ सल्लाहकार हरिप्रसाद बास्तोलाले सिन्धुपाल्चोक जिल्लाको ठोर्कपा सामुदायिक वन समूहबाट शुरु भएको सामुदायिक वनको अभियान हाल मुलुकका ७७ वटै जिल्लामा विस्तार भएको जानकारी दिए । नेपाल सर्वोच्च शिखर सगरमाथा, वुद्ध जन्मभूमीसंग विश्वसामु सामुदायिक वनको देशका रुपमा परिचित भएको उल्लेख गर्दै वन क्षेत्रलाई मुलुकको समृद्धिसंग जोड्नु पर्ने तीनै तहका सरकारको ध्यान जानु पर्ने आवश्यकता औल्याए ।
वन समूहका अध्यक्ष भगवान पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णु थापाले स्वागत र सचिव लेस्ली ठुसाजुले सञ्चालन गरेका थिए । यसअघि पोखरा १७ को कालजरुवा सजिवन घारी सामुदायिक वन समूहमा २७० वटा बाँसका विरुवा रोप्ने कार्य सम्पन्न भएको समुहका अध्यक्ष बिक्रम भण्डारीले जानकारी दिए । दुवै सामुदायिक वनमा रोपिएको विरुवा वडा कार्यालय पोखरा १७ ले निशुल्क उपलव्ध गराएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामुदायिक वन दिवसको उपलक्ष्यमा पोखरा १७ स्थित रातोपैह्रा सामुदायिक वन क्षेत्रमा बृक्षरोपण…






