पोखरा । पोखरा–१३, आर्वा विजयपुरस्थित विजय आधारभूत विद्यालयमा क्यान्सर सचेतना तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शनिबार २३ साउन २०८३ मा आयोजित शिविरमा स्थानीय बासिन्दासहित २१० जनाले स्वास्थ्य सेवा तथा क्यान्सरसम्बन्धी सचेतना प्राप्त गरेका छन्। दिदी बहिनी एकता फाउन्डेसन नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा मौजा विजयपुर समाज, यूकेको सहयोग र चरक मेमोरियल हस्पिटलले सहकार्य गरेको थियो।
दिदी बहिनी एकता फाउन्डेसन नेपालकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका–१३ का वडा अध्यक्ष किरण बराल विशेष अतिथिका रूपमा सहभागी भई यस्ता कार्यक्रमले स्वास्थ्य सचेतना बढाउने बताउनु भयो ।
चरक मेमोरियल हस्पिटलका मेडिकल डाइरेक्टर, सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. ओमकुमार श्रेष्ठले क्यान्सरको उपचारभन्दा पनि समयमै पहिचान महत्वपूर्ण भएकाले नियमित स्वास्थ्य परीक्षण र प्रारम्भिक लक्षणप्रति सचेत रहन सबैलाई आग्रह गर्नुभयो।तमुधिं नेपालका अध्यक्ष हुमबहादुर तमुले समुदायको स्वास्थ्य र सामाजिक हितका लागि सञ्चालन हुने यस्ता अभियानमा सबै पक्षको सहकार्य र सहभागिता आवश्यक रहेकोमा जोड दिनु भयो ।तमुधिं यूकेका पूर्व अध्यक्ष कमल गुरुङले विदेशमा रहेका नेपालीको सहयोगलाई समुदायको स्वास्थ्य र सामाजिक विकाससँग जोड्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बकाइयउनु भयो।
वरिष्ठ मोडल, मिसेस नेपाल युनिभर्स २०२६, क्यान्सर सर्भाइभर डली गुरुङ याक्थुम्बाले क्यान्सरसँग लडेर निको भएकी व्यक्तिका रूपमा परिचय दिदै क्यान्सरलाई डरको विषय होइन, समयमै पहिचान र उपचार गर्नुपर्ने रोगका रूपमा लिनुपर्ने बताउनु भयो ।
वरिष्ठ ब्युटी स्पेसलिस्ट गुरुङ ब्युटी एकेडेमीका निर्देशक चिनु गुरुङले महिलाले आफ्नो सौन्दर्यसँगै स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्दै नियमित स्वास्थ्य परीक्षण गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
फेसन सुपरस्टार तथा फेसन आर्टिस्ट विशाल गुरुङले स्वास्थ्यसम्बन्धी सचेतना समाजका हरेक वर्ग र पुस्तासम्म पुर्याउन सार्वजनिक व्यक्तित्वहरूले पनि आफ्नो प्रभावलाई सकारात्मक रूपमा प्रयोग गर्न आग्रह गर्नु भयो ।
पोखरा महानगरपालिका वडा नम्बर २० का जनप्रतिनिधि, गुन्जमान गुरुङले स्थानीय तह र समुदायको सहकार्यमा स्वास्थ्य सचेतना तथा निःशुल्क स्वास्थ्य सेवाका कार्यक्रमलाई गाउँ–गाउँसम्म विस्तार गर्न आवश्यक महसुस गरेको बताउनु भयो ।
अभियन्ता/आयोजक पुनम गुरुङका साइला बाबा कृष्णबहादुर गुरुङले समुदायका मानिसलाई रोग लागेपछि मात्र होइन, रोग लाग्नुअघि नै स्वास्थ्यप्रति सचेत बनाउने अभियान आवश्यक रहेको बताउनु भयो ।
सिक्लेस समाजका पूर्व अध्यक्ष क्या. शमसेर गुरुङ (काका) ले दिदी बहिनी एकता फाउनेडेसनको पहलको प्रशंसा गर्दै सामाजिक संस्थाहरूले समुदायको वास्तविक आवश्यकता पहिचान गरी स्वास्थ्य, शिक्षा र जनचेतनाका क्षेत्रमा प्रभावकारी काम गर्नुपर्ने जिकिर गर्नुभयो ।
स्वास्थ्य शिविरमा चरक मेमोरियल हस्पिटल नागढुंगाको सहकार्य :
बिजय आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा हेल्थ क्याम्प मेडिकल टिमका हेड चरक मेमोरियल हस्पिटलका मेडिकल डाइरेक्टर, सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. ओमकुमार श्रेष्ठले क्यान्सरसम्बन्धी सचेतना तथा अभिमुखीकरण प्रदान गर्दै क्यान्सरको जोखिम, सम्भावित लक्षण, प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण तथा समयमै उपचारको महत्वबारे जानकारी दिनुभयो।
क्यान्सर लागेपछि मात्र उपचार खोज्नेभन्दा जोखिम पहिचान गर्ने, शरीरमा देखिने असामान्य परिवर्तनलाई बेवास्ता नगर्ने र आवश्यक स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श लिने बानी विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
शिविरले ग्रामीण तथा समुदायस्तरमा क्यान्सरबारे रहेको डर, भ्रम र जानकारीको कमी हटाउँदै नियमित स्वास्थ्य परीक्षणप्रति नागरिकलाई सचेत गराउने उद्देश्य लिएको आयोजकले जनाएको छ।
क्यान्सर सचेतना एवं निःशुल्क स्वास्थ्य शिविरमा चरक मेमोरियल हस्पिटलका वरिष्ठ रेडियोलोजिस्ट डा. श्रेष्ठसहित प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. विष्णु पालिखे, मेडिकल अफिसरहरू डा. सुरज अर्याल र डा. सरिना पालिखे सहभागी शिविरको संयोजन डा. निकिता कोइराला र दिपाली थापाले गरेका थिए। शिविरमा ल्याब सेवातर्फ सोनिया गुरुङ र सुश्री रेनु माया आलेले जिम्मेवारी सम्हालेका थिए भने फार्मेसी सेवामा स्वस्तिका जीसी र कला देवी श्रेष्ठ खटिएका थिए। प्रसूति तथा स्त्रीरोग विभागतर्फ हेमकुमारीले सहायकका रूपमा तथा रेडियोलोजी सेवातर्फ निशा नेपालीले सहयोग गरेकी थिइन्।
त्यसैगरी, दर्ता तथा बिरामीको प्रारम्भिक स्वास्थ्य परीक्षणतर्फ कुशल जीटी, कोपिला खनाल र दिपा राईले जिम्मेवारी सम्हालेका थिए। शिविरको व्यवस्थापन तथा सरसफाइमा सबिना परियारले सहयोग गरेकी थिइन्। चिकित्सक तथा स्वास्थ्यकर्मीको उक्त टोलीले शिविरमा आएका सेवाग्राहीलाई स्वास्थ्य परीक्षण, भिडिओ एक्स रे, परामर्श, प्रयोगशाला परीक्षण, औषधि वितरण तथा आवश्यक स्वास्थ्य सेवाहरू प्रदान गरेको थियो।
स्वास्थ्य शिविरसँगै संस्थाको शुभारम्भ :
कार्यक्रममा दिदी बहिनी एकता फाउन्डेसन नेपालको संस्थागत शुभारम्भसमेत गरिएको थियो। संस्थाको शुभारम्भ ब्यानर अनावरणमार्फत गरिएको थियो भने स्वास्थ्य शिविरको उद्घाटन स्वास्थ्य उपकरण हस्तान्तरणमार्फत गरिएको थियो।
कार्यक्रमको उद्देश्य, संस्थाको भावी कार्यदिशा तथा स्वास्थ्य शिविरको व्यवस्थापनबारे फाउन्डेसनकी अध्यक्ष पुनम गुरुङले प्रकाश पार्नुभएको थियो। व्यक्तिगत रुपमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएकी पुनमले आफ्नो बुबा कर्णेल स्वर्गीय मणीन्द्र गुरुङको प्रेरणाबाट फाउण्डेसनको स्थापना गरेको जानकारी दिए । व्यक्तिगत रुपमा भन्दा पनि संस्थागत रुपमा सहयोग गर्नका लागि आफूलाई बुवाले भन्दै आउनुभएकाले फाउण्डेसनको स्थापना गरी सेवा प्रारम्भ गरिएको उनले बताए ।
पुनमको बुवाको गत वर्ष क्यान्सरका कारण निधन भएको थियो । क्यान्सरको पहिचान समयमै गर्न सकयो भने बिरामी निको हुने भएकाले आफूले क्यान्सर सचेतनाका साथै स्वास्थ्य शिविर गरेको उनको भनाइ छ ।
शनिवार आयोजित शिविरमा २१० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । झमझम पानी परिरहे पनि स्थानीय बासिन्दाहरु भने उत्सुकताका साथ स्वास्थ्य परीक्षणका लागि लामवद्ध थिए । अधिकांश महिला स्वास्थ्य परीक्षणका लागि आएका थिए । उनीहरुको भिडियो एक्सरे मार्फत क्यान्सर परीक्षण गरिनुका साथै सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरुलाई निःशुल्क रुपमा औषधि समेत वितरण गरिएको थियो ।
फाउन्डेसनले महिला, बालबालिका तथा समुदायको स्वास्थ्य, शिक्षा, सामाजिक सचेतना र सहयोगका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसहित आफ्नो गतिविधि अघि बढाउने अध्यक्ष गुरुङले बताउनु भयो ।
कार्यक्रममा नेपालकी पहिलो कमर्सियल मोडल तथा मेसेस नेपाल युनिभर्स २०२६ डलि गुरुङ याक्थुम्बा, त्यस्तै वरिष्ठ ब्युटी स्पेसलिस्ट चिनु गुरुङ र फेसन आर्टिस्ट विशाल गुरुङको सहभागिताले कार्यक्रमलाई थप विशेष बनाएको आयोजकले जनाएको छ।
समुदायमै स्वास्थ्य सचेतना र परीक्षणको अवसर उपलब्ध गराउने उद्देश्यले आयोजित कार्यक्रमले स्थानीय स्तरमा स्वास्थ्यप्रति जागरूकता बढाउन योगदान पुर्याएको आयोजकको निष्कर्ष छ।
क्यान्सरको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैलीसम्बन्धी सचेतना समुदायस्तरसम्म पुर्याउने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने फाउन्डेसनका अध्यक्ष गुरुङले जनाउनु भयो । गुरुङ क्यान्सर रिसर्च युकेकि एम्बेसेडर, एनआरएनए युकेका पूर्व अध्यक्ष तथा तमुधि युके आमा समूहक संस्थापक अध्यक्ष समेत हुनुहुन्छ।









सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, साउन २५ गण्डकी खेलकुद परिषद (गखेप)को पदक वितरणमा भएको अनियमितताको…






