‘देश चिनाउने खेल’– पहारी


     एभरेस्ट आवाज    
     कार्तिक ६ गते २०७९ मा प्रकाशित




कास्की क्षेत्र नम्वर ३ ‘ख’ बाट नेकपा एमालेका उम्मेदवार राजीव पहारीले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सक्ने क्षेत्र खेलकुद भएको बताएका छन्।

पोखरा–५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजको आयोजनामा शनिवारबाट सुरु भएको वडास्तरीय व्याडमिण्टन प्रतियोगिताको उद्घाटन गर्दै निवर्तमान सांसद पहरीले यस्तो बताएका हुन्।

अन्तर्राष्ट्रियस्तरमा नेपालले प्रतिस्पर्धा गर्न सक्ने खेल क्षेत्र नै भएकोले खेल र खेलाडीको प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए।

आगामी निर्वाचनको प्रसंग जोड्दै उनले जनताको सेवामा अझै धेरै काम गर्न बाँकी रहेकाले फेरि उम्मेदवारी दिएको बताए।

आफूले अघिल्लो कार्यकालमा थालनी गरेका महत्वपूर्ण योजनाहरुलाई पूर्णता दिलाउन फेरि आफूलाई विजयी गराउन उनको आग्रह छ।

कार्यक्रममा बोल्दै पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले स्वास्थ्य नागरिक बन्न खेलकुद महत्वपूर्ण हुने बताए। वडा ५ का अध्यक्ष विष्णुप्रसाद बरालले मालेपाटन खेल क्षेत्रको उर्भरभूमी भएको बताए। यहाँबाट थुप्रै राष्ट्रिय खेलाडी उत्पादन भईसकेको उनले उल्लेख गरे।

कार्यक्रम आयोजक संस्था सूर्यचन्द्र विकास समाज अध्यक्ष कृष्णप्रसाद बरालको अध्यक्षतामा भएको थियो। ३ दिनसम्म चल्ने प्रतियोगितामा डबल्सतर्फ २६ टिमको सहभागिता छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।