आज कार्तिक शुक्ल प्रतिपदा अर्थात यमपञ्चक (तिहारको चौथो दिन) गोवर्धन पूजा।
कार्तिक शुक्ल प्रतिपदाको दिन गोवर्धन तथा गोरुको पूजा गरिन्छ।
गोरु पूजामा फूल, अबिर, केशरी, जौ, तिल, धूप, कपूर, चामलको पिठो आदि प्रयोग गरिन्छ। बाली लगाउने प्राणीका रूपमा गोरुको सम्मानमा यो पूजा गरिँदै आइएको हो। यही दिन हिन्दू धर्मावलम्बीहरूले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोवर्धन पर्वतको आकृति बनाएर पूजा गर्ने प्रचलन छ।
पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो। धार्मिक मान्यताअनुसार गोकुलमा कृष्ण बस्थे। त्यहाँ गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्थे। इन्द्रले आफ्ना भक्तहरूलाई केही दिँदैनथे। कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नुभन्दा खनिज, घाँस, पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो भनेपछि गोपालहरूले गोवर्धन पर्वतको पूजा गर्ने परम्परा बसेको मानिन्छ। आफ्नो पूजा छाडेर गोवर्धन पर्वतको पूजा गरेको भन्दै रिसाएर इन्द्रले गोकुलमा असिना–पानीको वृष्टि गराउँछन्। त्यही समय कृष्ण भगवानले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरूलाई आश्रय दिन्छन्। त्यही बेलादेखि गोवर्धन पर्वतको पूजा गर्न सुरु गरिएको जनविश्वास छ।
आज म्हपूजा पनि
नेवार समुदायले यही दिन आफ्नो शरीरलाई पूजा गरी म्ह:पुजा मनाउँछन्।
आत्मा सन्तुष्ट भए देवता खुसी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ म्ह: पूजा गरिँदै आएको छ।
परिवारमा मुलीले परिवारका सबै सदस्यहरूको म्ह: अर्थात् शरीरको पूजा गरी हाँस वा कुखुराको फुल सगुनको रूपमा अर्पण गरिन्छ।
यो दिन आफ्नै शरीरलाई पूजा गरिन्छ। शरीर भन्नासाथ यसमा पञ्चतावको संयोजन हुन्छ। पृथ्वी, जल, तेज, वायु र आकाश पञ्चताव नै हाम्रो शरीरको अस्तित्व हो भन्ने जनविश्वास छ। यसरी पञ्चतावको संयोजन भएको हाम्रो शरीरलाई बर्सेनि आइपर्ने विभिन्न बाधाहरू, आपतविपत, दु:ख, सुख एवं विभिन्न रोग र घटनाबाट मुक्त भएर सफलतापूर्वक जीवन चलाउन अवसर मिलोस् भनेर आत्म पूजा अर्थात देह पूजा गरिँदै आएको हो।
नेपाल संवत ११४३ सुरु
आजका दिनबाट नेवारी समुदायको नेपाल संवत (नयाँ वर्ष) ११४३ समेत सुरु भएको छ।
सम्वतका प्रवर्तक शंखधर साख्वाले गरिब जनतालाई ऋणमुक्त गराएको स्मरणमा नेपालका नेवारी समुदायले नेपाल संवत मनाउन थालेका हुन्। यो नेपालको मौलिक संवतसमेत हो। तिथिमा आधारित यो संवत् कसैले आज र कसैले भोलि मनाउँदैछन्।
नेपाल सम्वत राष्ट्रकै नामबाट चलेको मौलिक संवत हो। हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेपाल संवत नयाँ वर्ष सुरु हुन्छ। जनतालाई दासत्वबाट मुक्त गरि नयाँ युगको प्रारम्भ भएको खुसीयालीमा नयाँ साँस्कृतिक उत्वसकै रुपमा नेवार समुदायले नेपाल संवत मनाउँदै आएका छन्। संवतका प्रवतक शंखधर साख्वाले गरेको योगदान मूल्यांकन गर्दै सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरि संवतलाई राष्ट्रिय मान्यता दिइसकेको छ ।
लिच्छवि राजा राघवदेवको पालामा ११४३ वर्ष पहिले परोपकारी शंखधर साख्वाले ऋणमा डुबेका जनताको ऋणमुक्त गरि आफ्नै देशको नाममा संबत स्थापना गरी प्रचलनमा ल्याइएको किम्वद्न्ती छ। नयाँ संवत (नयाँ वर्ष) प्रारम्भ भएको अवसरमा नेवारी समुदायले आजका दिन विहान न्हुदयाँ भिन्तुना र्याली समेत निकाल्ने गर्दछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







