म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।
पूर्वाधार विकास मन्त्रालय अन्र्तगतका कार्यालयहरू जिल्लामा स्थापना भएपछि विकास आयोजना कार्यान्वयनमा सहजता हुने अपेक्षा गरिएको छ । सङ्घीय खानेपानी तथा ढल ब्यवस्थापन, जलस्रोत तथा सिँचाइ र स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यालय थपिएका जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिए । “पूर्वाधार विकास मन्त्रालयले म्याग्दीमा तीन वटा नयाँ कार्यालय विस्तार गर्ने निर्णय गरेर सहजिकरणका लागि समन्वय समितिलाई पत्राचार गरेको छ,” उनले भने, “खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय साविक एकाइ रहेको भवनबाट सञ्चालन हुनेछ भने अन्य दुई वटा कार्यालयका लागि भवनको खोजीमा छौँ ।”
स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यक्षेत्र म्याग्दी, बागलुङ र मुस्ताङ तोकिएको छ । खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाको कार्यक्षेत्र म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङ रहेको छ । जलस्रोत तथा सिँचाइ आयोजनाको कार्यक्षेत्र कालीगण्डकी नदी बेसिनका जिल्लाहरू रहेका छन् । सङ्घीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाको कार्यालय आर्थिक वर्ष २०८२÷०८३ मा पोखरामा गाभिएर बेनीमा एकाइ मात्र रहेको थियो । सिँचाइ तथा जलस्रोत र स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यालय यसअघि बेनीमा थिएनन् । तीन वटै कार्यालयहरू यसअघि पोखरामा थिए ।
सडक, सहरी विकास, नदी नियन्त्रण, बस्ती संरक्षण, खानेपानी, सिँचाइसँग सम्बन्धी महत्त्वपूर्ण योजनाहरू सञ्चालन गर्ने कार्यालयहरू जिल्लामै हुँदा योजना छनौटदेखि कार्यान्वयनमा सहजता हुने कार्यवाहक जिसस प्रमुख खत्रीले बताए । तिहार अघिनै ती कार्यालयहरू सञ्चालनमा ल्याउने तयारी भएको उनले बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् । पूर्वाधार विकास मन्त्रालय…







