ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न


     एभरेस्ट आवाज    
     कार्तिक ११ गते २०८३ मा प्रकाशित




पोखराबाटै निर्माण गरिएको नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ।

गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री वेदबहादुर गुरुङ श्यामको परिकल्पनामा,अभियान फिल्म्स प्रोडक्सन प्रा.लि, पोखराको ब्यानरमा निर्माण भइरहेको चलचित्रको मंगलबार कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा अन्तिम दृश्य छायांकन गर्दै इन्डक्ल्याप गरिएको हो।गुरुङ सभ्यता, संस्कृति र संस्कारमा आधारित चलचित्र ‘बुकी फूल’ले ऐतिहासिक कथालाई पर्दामा उतार्ने प्रयास गरेको छ। यस चलचित्रको असोज १ गते कास्कीको पर्यटकीय गाउँ सिक्लेसबाट शुभमुहूर्त गरिएको थियो।चलचित्रका प्रोडक्सन म्यानेजर डीबी गुरुङका अनुसार ताङतिङमा अन्तिम दृश्य छायांकन भएसँगै चलचित्रको सम्पूर्ण छायांकन कार्य सम्पन्न भएको हो। निर्माण पक्षले अब छिट्टै सम्पादन कार्य सुरु गर्ने जनाएको छ।

सिक्लेस र आसपासका क्षेत्रमा छायांकन गरिएको चलचित्रको निर्देशन ओमप्रकाश गुरुङले गरेका छन्। चलचित्रमा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन्। अभिनेत्री संस्कृति गुरुङका लागि भने ‘बुकी फूल’ डेब्यु चलचित्र हो। साथै चलचित्रमा पुष्कर गुरुङ, कविता आले, विश्वास गुरुङ, माया गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, डीबी गुरुङ, बलबहादुर गुरुङ, लालशोभा गुरुङ, प्रकाश घिमिरेलगायत कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको छायांकन सुसान प्रजापतिले गरेका हुन्। मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने रहेका छन् भने सहायक निर्देशकका रूपमा विशाल राई र सुरेन्द्र सिंहले साथ दिएका छन्। कला निर्देशन कमलबहादुर गुरुङ, याङसाङ राई र रोशन मुर्मुले गरेका छन्। पोसाक व्यवस्थापन कमला छ्यान्त्यालले सम्हालेकी छन् भने लाइभ साउन्डमा नवीन श्रेष्ठ, मेकअपमा विक्रम थापा र बीटीएस छायांकनमा समीर गुरुङ रहेका छन्। सहनिर्माण नियन्त्रकका रूपमा टेक गुरुङले जिम्मेवारी निर्वाह गरेका छन्। चलचित्रको नृत्य निर्देशन कमलबहादुर गुरुङले गरेका छन्।

गुरुङ सभ्यताको मौलिक कथा, संस्कृति र ऐतिहासिक परिवेशलाई केन्द्रमा राखेर निर्माण भएको ‘बुकी फूल’ फरक कथावस्तु र प्रस्तुतिका कारण दर्शकमाझ विशेष बन्न सक्ने अपेक्षा गरिएको छ। तत्कालीन जीवनशैली र सांस्कृतिक परिवेशलाई चलचित्रमा कसरी प्रस्तुत गरिएको छ भन्ने विषयले पनि यसको प्रतीक्षालाई थप रोचक बनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।