संचारमाध्यममा विज्ञापन गर्न निश्चित मापदण्ड निर्धारण


     एभरेस्ट आवाज    
     कार्तिक ९ गते २०७९ मा प्रकाशित




निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ संगठनले प्रचार–प्रसारका क्रममा संचारमाध्यममा विज्ञापन गर्न निश्चित मापदण्ड निर्धारण गरेको छ।

आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा संचारमाध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणअन्तर्गत दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट प्रचार–प्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबिस घण्टामा बढीमा ४ पटकसम्म प्रसारण गर्न सक्नेछन्। दलहरूले एक पटकमा बढीमा एक मिनेटसम्म मात्रै प्रसारण गराउन पाउने भएका छन्।

आयोगका अनुसार दलले निजी क्षेत्रको पत्र–पत्रिकाको माध्यमबाट प्रचार–प्रसार गर्दा प्रत्येक दिन बढीमा ७/७ इञ्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्नेछन्। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रदेश सभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले कम्तीमा एक घण्टाको अन्तरालमा २४ घण्टामा बढीमा ३ पटक र एक पटकमा बढीमा १ मिनेटसम्म प्रसारण गराउन सक्नेछन्।

यसैगरी, प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले २४ घण्टामा बढीमा ४ पटक र एक पटकमा बढीमा १ मिनेटसम्म प्रसारण गराउन सकिने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आचारसंहितामा विदेशी संचारमाध्यमबाट निर्वाचनसम्बन्धी प्रचार सामग्री प्रकाशन तथा प्रसारण गर्न वा गराउन नहुने व्यवस्था आयोगले गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।