निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्न सीमा तोकेको छ।
मंगलबार आयोगले दल र उम्मेदवारहरूलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा ७ बुँदे निर्देशन दिएको हो।
आयोगले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढीमा ३ वटा सम्पर्क कार्यालय खोल्न सक्ने आयोगले जनाएको छ। त्यस्तै, प्रदेशसभा सदस्य पदको उम्मेदवारले एउटा सम्पर्क कार्यालय खोल्न सक्ने आयोगले जनाएको छ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेस गरेका दलले प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमा एउटा सम्पर्क कार्यालय खोल्न सक्ने र माथिका प्रकरण नं. १, २ र ३ बमोजिम कार्यालय स्थापना गर्दा सम्भव भएसम्म एउटै स्थान प्रयोग गर्न आयोगले निर्देशन दिएको छ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिई निर्वाचन चिह्न प्राप्त गरी सकेपछि त्यस्ता उम्मेदवारले अन्य कुनै उम्मेदवारलाई समर्थन गरेको भएमा त्यस्ता उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गर्न नपाउने पनि आयोगले जनाएको छ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घर भाडामा लिई सम्पर्क कार्यालय स्थापना गरेको भएमा त्यस्तो घरको घरभाडा उम्मेदवारको निर्वाचन खर्चमा समावेश गर्नुपर्ने आयोगको निर्देशनमा उल्लेख छ।
राजनीतिक दल वा उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गरेको जानकारी निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा तुरुन्त उपलब्ध गराउनुपर्छ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ मा आयोगले संविधान र प्रचलित कानुनको अधीनमा रही दलले गर्ने काम कारबाही संचालन गर्दा पालना गर्नुपर्ने विषयका सम्बन्धमा आयोगले आवश्यक निर्देशन दिन सक्नेछ।
सोही दफाको उपदफा (२) मा उपदफा (१) बमोजिमको निर्देशन पालना गर्नु प्रत्येक दलको कर्तव्य हुने कानुनी व्यवस्था छ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारसम्बन्धी जुलुस, आमसभा, कोणसभा गर्न, सञ्चार माध्यममा कुनै प्रकारको प्रचार–प्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





