शताब्दी पुरुष जोशी सरल जीवनका पर्याय हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा


     एभरेस्ट आवाज    
     कार्तिक ११ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी मुलकको भाषा, कला तथा लोकसाहित्य क्षेत्रको महत्वपूर्ण निधि भएको बताएका छन् । ललितपुरको मङ्गलबारमा नेपाल भाषा मंका खल यलद्वारा आज आयोजित कार्यक्रममा शोक मन्तव्य राख्नुहुँदै प्रधानमन्त्री देउवाले भने, “शताब्दी पुरुष जोशी सरल जीवनका पर्याय हुनुहुन्थ्यो । नेपाल र चीनको सांस्कृतिक सम्बन्ध स्थापित गर्न जोशीले खेलेको भूमिका महत्वपूर्ण छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशी जस्तो विद्वान व्यक्तित्व संसारमा विरलै मात्रै जन्मिने बताए । “उहाँको बहुगुण सम्पन्न व्यक्तित्व, विज्ञता र देशको साहित्य र संस्कृति उजागर गर्न पु¥याउनुभएको योगदान अतुलनीय र अविस्मरणीय छ ।” मन्त्री श्रेष्ठले भने । “देशको अभिभावक तथा जीवित इतिहास गुमाएको महसुस भएको छ ।”
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जोशीको निधनले एसियाकै महत्वपूर्ण व्यक्ति गुमाउनुपरेको औल्याए । “उहाँले ज्यादै नै अर्थपूर्ण जीवन बाँच्नुभयो । उहाँ ९८ वर्ष हुँदा हामीले ललितपुर महानगरपालिकाबाट निणर्य गराएर सवारी साधन, सुरक्षा र मोबाइल फोनको सुविधा उपलब्ध गराएका थियौँ । नगरप्रमुख महर्जनले भने, “उहाँ जीवतै छँदा सेवा गर्ने अवसर पाएकोमा हर्ष विभोर भएको छु ।”

सत्यमोहन जोशीका माहिला छोरा अनुराज जोशीले आफ्नो बुवा शताब्दी पुरुषको सम्मानमा तीन किसिमका मुद्रा र हुलाक टिकट प्रकाशन गरेर राज्यले विशिष्ट सम्मान गरेको बताए । “नागरिकको नाममा जीवितै छँदा मुद्रा र हुलाक टिकट निस्कनु, मृत्युु भएपछि सम्मानमा सार्वजनिक बिदा घोषणा गर्नु ठूलो कुरा हो । हामी राज्य प्रति कृतज्ञता ज्ञापन गर्छौँ”, जोशीले भने ।

नेपाल भाषा मंका खलः यलका अध्यक्ष हिराकाजी महर्जनले सत्यमोहन जोशीको राष्ट्रिय व्यक्तित्वलाई अजरअमर बनाइ राख्ने उद्देश्यले सत्यमोहन जोशी भाषा साहित्य पुरस्कार स्थापना गरिएको जानकारी गराए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।