पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने माओवादीका ५ नेता कारबाहीमा


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०७९ मा प्रकाशित




नेकपा (माओवादी केन्द्र)ले पार्टी र गठबन्धनका उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने पाँच नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

माओवादीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका केन्द्रीय सदस्य हेमराज भण्डारी, अशोककुमार मण्डल, वीरेन्द्र यादव, दीपेन्द्रबहादुर पुन मगर र केन्द्रीय लेखा परीक्षण आयोगका सदस्य काशिचन्द्र बराललाई कारबाही गरेको हो।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित प्रदेश समितिका इन्चार्ज–अध्यक्षको नाममा विशेष परिपत्र गर्दै उनीहरूलाई कारबाही गरिएको जनाएका छन्। भण्डारीले धनकुटाबाट, मण्डलले सप्तरी क्षेत्र नं १ र बरालले कालिकोटबाट प्रतिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका थिए। यस्तै, यादवले मधेस प्रदेशअन्तर्गतको पर्सा निर्वाचन क्षेत्र नं ४ (१) र मगरले रोल्पा क्षेत्र नं १ (२) बाट पार्टी र गठबन्धनका उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए।

माओवादीले पार्टीका प्रदेश समिति सदस्यहरू गठबन्धनका विरुद्ध स्वतन्त्र उम्मेदवार रहेको भएमा वा त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक रहेको भएमा तत्काल केन्द्रीय कार्यालयमा कारबाहीका लागि सिफारिस गर्न सम्बन्धित प्रदेश समितिलाई निर्देशन दिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।