उपल्लो मुस्ताङवासी चिसो छल्न बेँसी झरे


     एभरेस्ट आवाज    
     कार्तिक १५ गते २०७९ मा प्रकाशित




सांकेतिक तस्बीर

चिसो याम शुरू भएसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन्।

कार्तिक लागेपछि उनीहरूले गाउँ छाडेर विभिन्न जिल्लामा घुम्ती व्यापार थालेका छन्।

वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेँसी झरेर घुम्ती व्यापारमा लाग्ने गरेको छोसेरकी ल्यामु छिरिङले बताइन्। यसरी व्यापारमा निस्किएका मुस्ताङीले लत्ताकपडा, सियो, धागो, जिम्बु, सिद्रा, हिङ, माला, शिलाजितलगायत वस्तुको व्यापार गर्दै आएका छन्।

हिउँदका ४ महिना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले असोज अन्तिम हप्ताभित्र अन्नबाली थन्काएर सर्वसाधारण बेँसी झर्ने गरेका छन्। विशेषगरी मुस्ताङका लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ, छोन्हुपलगायत गाउँका बासिन्दा जाडो छल्न तल बेँसी झर्छन्।

चिसो मौसममा उपल्लो मुस्ताङमा संचालित मावि र प्राविले पोखराका विभिन्न स्थानमा घुम्ती कक्षा संचालन गरेर पठनपाठन संचालन गर्ने गरेका छन्। घरमा पालेका वस्तुभाउ वृद्धवृद्धाको जिम्मा लगाएर परिवारका अन्य सदस्य कात्तिक पहिलो हप्तादेखि घरबाट निस्किएको छुसाङकी डग्मी शेरचनले बताइन्। उनले अहिले पर्वतका विभिन्न बस्ती पुगेर व्यापार गर्न थालेकी छिन्।

अहिले उपल्लो मुस्ताङका अधिकांश बासिन्दा बेँसी झरेको उनले बताइन्। उक्त क्षेत्रमा विद्यालय समेत बन्द भइसकेका छन् भने सरकारी कार्यालयमा कर्मचारी फाट्टफुट्ट बस्ने गरेका छन्।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।