मोटरेवल पुल बनेपछि स्थानीयवासीको दैनिकी फेरियो


     एभरेस्ट आवाज    
     कार्तिक १५ गते २०७९ मा प्रकाशित




लम्जुङ । मिदिमखोला मोटरेवल पुल निर्माण सम्पन्नसँगै लम्जुङका स्थानीयवासीको दैनिकी फेरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा जिल्लाको क्व्होलासोथर गाउँपालिका –८ घाम्राङ र वडा २ मालिङ जोड्ने मिदिमखोला पुल केही दिनअघि निर्माण सम्पन्नसँगै स्थानीयको आवातजावतमा समय छोटिएसँगै यतिबेला दैनिक पनि फेरिएको हो ।

पुल नहुँदा अन्य स्थानबाट घुमेर घण्टौँ समय लाग्ने गरे पनि सो समयभन्दा झन्डै तीन÷चार घण्टा समय छोटिएपछि यहाँका स्थानीयवासीको दैनिकी पनि सहज बन्न पुगेको हो ।

खोलाले पालिकालाई दुई भागमा बाँडे पनि मिदिमखोला पुलले जोडेको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए । उनले भने, “विशेष गरी पसगाउँ, सिङ्दीका जनता पालिका केन्द्र र जिल्ला सदरमुकामसम्म पुग्नलाई सहज बनाएको छ । सँगसँगै वडा नं २ मालिङ र ४ नम्बरको वडाका जनतालाई पोखरासम्म सिधा बाटो जानसक्ने भएको छ ।”

बेँसीसहरबाट जाँदा उदिपुरको झन्झटिलो बाटो व्योहोर्नु नपर्ने भएको उहाँको भनाइ थियो । छोटो बाटो टक्सार रामबजार हुँदै पोखरा जानलाई समेत सहज बनाएको उनको भनाइ छ । त्यस्तै, मान्छे बिरामी हुँदा, स्थानीयवासीको उत्पादित वस्तु बजारसम्म पु¥याउन यो पुल मेरुदण्डको रुपमा स्थापित भएको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।

स्थानीयवासी सुलबहादुर विकले पुल निर्माणले आवतजावत सहज भएसँगै यहाँका स्थानीयवासी हर्षित भएको बताए । पूर्वाधार विकास कार्यालयमार्फत प्रदेश सरकारको रु सात करोड दश लाख बीस हजारमा सो पुल निर्माण सम्पन्न गरेको पूर्वाधार कार्यालय लमजुङका प्रमुख सुमन गिरीले बताए।

उनका अनुसार ७० मिटर लम्बाइ र ६ मिटर चौडाइको यस पुलको दुवैतर्फको पिलर उठाउने, तारजाली लगाउने, सुपर स्ट्रक्चरको ढलान कार्यलगायत सम्पूर्ण कार्य सम्पन्न भएसँगै केही दिनअघिदेखि सवारीसाधन चल्न थालेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।