एभरेस्ट एफएमको रक्तदान जारी, सशस्त्र प्रहरीको संस्थागत सहभागिता


     एभरेस्ट आवाज    
     कार्तिक १६ गते २०७९ मा प्रकाशित




पोखरा । एभरेस्ट मिडिया हाउसले आयोजना गरेको आकस्मिक रक्तदानमा सशस्त्र प्रहरी बल नेपाल ४ मुक्तिनाथ बाहिनी र कालिका गण मालेपाटनले संस्थागत सहभागित जनाएका छन् ।

विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पुरा गर्न क्षेत्रिय रक्तसञ्चार केन्द्रको अनुरोधमा एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमको संयुक्तरुपमा आयोजना सशस्त्रको संस्थागत सहभागिता रहेको हो ।

मुक्तिनाथ बाहिनीका डीएसपी अरुण कुमार शर्माको नेतृत्वमा ९ जना र कालिका गण मालेपाटनबाट ६ जनारी गरि १५ जनाले सहभागिता जनाएका छन् । कार्यक्रममा इन्सपेक्टर सन्तोष थापा सहित राम बहादुर तामाङ, नरसुब्बा दुरा, गिर बहादुर सिंह, चिन बहादुर गुरुङ, जीवन खड्का, विरेन्द्र सुयाल, संगिता पोखरेल, गोविन्द जिसीको सभागिता रहेको थियो ।

यस्तै कालिका गण मालेपाटनबाट सूर्य बहादुर गुरुङ, गिता श्रेष्ठ, आयूष बोहोरा, डिल बहादुर चौधरी, सुसिल बास्तोला र मनिष थापाले रक्तदान गरेका छन् ।

‘स्वस्थ जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ आयोजित आकस्मिक रक्तदान कार्यक्रम क्षेत्रीय रक्तसञ्चार केन्द्रको सहकार्यमा हुने कार्यक्रम पोखरा– ५, प्रस्याङ स्थित एफएमको प्राङ्गणमा जारी छ ।

रक्तदानमा १७ देखी ६० वर्ष उमेर समूहका ४५ केजी भन्दामाथि तौल भएका कुनै पनि दिर्घरोगको औषधी सेवन नगरेका संक्रामक रोग नलागेका स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्ने छन् । रक्तदान गर्नाले शरिरमा नयाँ रक्तकोष उत्पादन भई स्वास्थ्य प्राप्ति हुने, हृदयघात र क्यान्सरको खतरा कम हुने, क्यालोरि कम भई शरिरको तौल घटाउन सघाउने लगायतमा फाइदा हुने विज्ञहरुको भनाई छ ।

यसका साथै रगतको विकल्प रगत मात्र भएकाले संकटमा परेकाहरुको जीवन बचाई खुशी दिलाउने र सामाजिक दायित्व निर्वाह गराई आत्म सन्तुष्टि प्रदान गर्नपनि रक्तदानको महत्व छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।