आजदेखि राजनीतिक दलले चुनावकेन्द्रीत जुलुस र आमसभा


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०७९ मा प्रकाशित




राजनीतिक दल तथा उमेदवारले आज (बिहीबार)देखि मंसीर १ गतेसम्म चुनावी प्रचार–प्रसार गर्दैछन्।

निर्वाचन आयोगका अनुसार मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १७ दिन अघि (आज)देखि निर्वाचन प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार–प्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ।

उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचार–प्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र संचारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ।

आचार संहिताबमोजिम निर्वाचन प्रचार–प्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ।

दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने छन्। कुनैपनि धर्मको नाममा प्रचार–प्रसार गर्न–गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन हुँदैन।

कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचार–प्रसार गर्न वा मत माग्न भने पाइँदैन। साथै आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा सरकारलाई ७ बुँदे निर्देशन दिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।