मुक्तिनाथ हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहर– राष्ट्रपति


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०७९ मा प्रकाशित





मुस्ताङ । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ विश्वभरिका हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहरका रुपमा रहेको बताएका छन । आज मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतम बुद्धको प्रतिमा अनावरण एवं भगवान् विष्णुको प्रतिमा शिलान्यासपछि राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र नेपालकै विशिष्ट धार्मिक एवं सांस्कृतिक सम्पदा रहेको उल्लेख गरे ।

उनले बुद्धको प्रतिमा अनावरण र भगवान् विष्णुको प्रतिमा शिलान्यास गर्न पाउनुलाई आफूले ऐतिहासिक अवसरका रुपमा लिएको पनि बताए । बहुसाँस्कृतिक आयाम बोकेर सदियौँको इतिहास समेटेको मुक्तिनाथ क्षेत्र र मुक्तिनाथ मन्दिरको महत्वलाई पौराणिक ग्रन्थले ठूलो सम्मानका साथ उल्लेख गरेको उनको भनाइ थियो । राष्ट्रपति भण्डारीले भौगोलिक, सामाजिक र सांस्कृतिक हिसाबले मुस्ताङ विशिष्ट रहेको बताए ।

उनले मुस्ताङका धार्मिक तथा पर्यटकीय क्षेत्रको भौतिक तथा पूर्वाधार विकासमा सङ्घ, प्रदेश र स्थानीय तहले समन्वयकारी पहल लिनुपर्ने धारणा राखे । राष्ट्रपति भण्डारीले मित्रराष्ट्र चीनसँग व्यापारिक सम्पर्क स्थापित गर्न सहज हुने कोराला नाकाले मुस्ताङलाई अर्को परिचय दिएको बताए ।

राष्ट्रपति भण्डारीले शुक्रबार बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजासमेत गरेका थिए । मन्दिर परिसरमा रहेका १०८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गरेका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । राष्ट्रपतिले मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन गरेका जनाइएको छ ।

गैरआवासीय नेपाली सङ्घका पूर्वउपाध्यक्ष एवं उद्यमी सोनाम लामाको निजी लगानीमा मुक्तिनाथमा गौतमबुद्धको मूर्ति निर्माण गरिएको थियो । भगवान् विष्णुको मूर्ति पनि उनकै लगानीमा बन्न लागेको हो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।