लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन गर्नुपरेको हो : प्रधानमन्त्री देउवा


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरी एक ठाउँमा उभिनुपरेको बताएका छन् ।

गृहपालिका गन्यापधुरा–२ वडालमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धन बहुमतका साथ विजयी हुने दाबी गरे ।

सबै पक्ष, जातजाति र भूगोल तथा अन्यायमा परेका मानिसको पक्षमा रहेका गठबन्धका उम्मेदवारलाई विजयी बनाउन उनले आग्रह गरे । राजनीतिमा स्थायी शत्रु र मित्र नहुने भएकाले राजनीति परिस्थितिअनुसार चल्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले न्यायपालिका स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै न्यापालिकामाथिको हस्तक्षेप र आरोप बन्द हुनुपर्ने बताए । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा न्यायालय र संविधाननलाई कमजोर पार्ने चेष्टा गरेको आरोप लगाउँदै प्रधानमन्त्री देउवाले न्याय क्षेत्रलाई स्वतन्त्ररूपमा काम गर्ने वातावरण आफ्नो नेतृत्वको सरकारले कायम गरेको बताए ।

कुनै पनि व्यक्ति वा प्रधानमन्त्रीले संसद् भङ्ग गर्न नपाउन् भन्ने अभिप्रायले लोकतन्त्रको मर्म र जनताको अभिमतका आधारमा तयार पारिएको नेपालको संविधान मास्ने र च्यात्ने खतरा बढेको तर ससंद् र अदालत नै संविधानको रक्षा गर्ने निकाय भएको उनको भनाइ थियो ।

उनले अतिक्रमित नेपालको भूमि कुटनैतिक पहल र आपसी सम्बन्धका आधारमा फिर्ता ल्याउन पहल भइरहेको जानकारी दिए । आफू पनि सुदूरपश्चिमवासी भएकाले लिम्पियाधुरा, लिपुलेक, कालापानी र अन्य भूमिसम्बन्धी विवाद पनि कूटनीतिक पहलका आधारमा समाधान गर्ने उनले स्पष्ट पारे ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम र डडेल्धुराको विकासका लागि आफू सधैँ प्रतिबद्ध स्पष्ट गरे । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।