कारागारका कैदीबन्दी र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीका लागि बागलुङ दुई अस्थायी मतदान केन्द्र तोकिएको छ । कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले बताउनुभयो । चुनावमा नखटने कर्मचारी, सुरक्षाकर्मीलगायतले जिससमा रहने अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने उनको भनाइ छ ।
“चुनावमा खटिएका कर्मचारी, सुरक्षाकर्मीले सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्छन् भने बाँकीले सदरमुकाममा तोकिएको अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ”, जिल्ला निर्वाचन अधिकारी रिजालले भने । उनका अनुसार त्यसरी मतदान गर्नेले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउनेछन् । अस्थायी मतदान केन्द्रमा तीनजना कर्मचारी खटिनेछन् । जिल्लाभर स्थायी मतदान केन्द्रको सङ्ख्या भने दुई सय ३१ रहेको छ । मतदानस्थल एक सय छवटा छन् ।
मतदानको दिन आउन १५ दिन बाँकी रहँदा राजनीतिक दलदेखि निर्वाचन आयोग र सम्बद्ध निकाय चुनावको तयारीमा जुटेका छन् । दल र उम्मेदवार मतदाता रिझाउन तल्लीन छन् । सुरक्षा योजनालगायत चुनावको व्यवस्थापकीय तयारीका कामलाई पनि तीव्र पारिएको छ । मतदान र त्यसपूर्व चाहिने सबै निर्वाचन सामग्री जिल्लामा आइपुगेको निर्वाचन कार्यालयले जनाएको छ ।
कर्मचारी, सुरक्षाकर्मीको खटनपटन, तालिमलगायतका काम भइरहेको छ । मतदाता शिक्षाका लागि वडास्तरमा स्वयम्सेविका खटिएका छन् । सबै मतदान केन्द्रमा गरी १८ सय ५७ जना कर्मचारी र नौ सय ३० स्वयम्सेवक खटिनेछन् । एउटा मतदान केन्द्रमा आठजना कर्मचारी परिचालन गरिनेछ ।
सङ्घतर्फ दुई निर्वाचन क्षेत्र रहको यस जिल्लामा कुल एक लाख ९२ हजार दुई सय २६ मतदाता छन् । १ नं क्षेत्रमा ९६ हजार ६ सय ६५ र २ नं मा ९५ हजार पाँच सय ६१ मतदाता छन् । प्रदेशतर्फ १ को (१० मा ५० हजार पाँच सय ८० र )२० मा ४६ हजार ८६ मतदाता रहेका छन् । २ (१० मा ५४ हजार तीन सय ३४ र २ ) २० मा ४१ हजार दुई सय २७ मतदाता छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि दलका केन्द्रीयस्तरका नेतासहित जिल्लाका ३१ उम्मेदवार चुनावी मैदानमा छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







