पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ (१) हेभिवेट प्रतिष्पर्धी क्षेत्र हो । जहाँ नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व जनमुक्ति सेनाका बटालियन कमाण्डर दीपक कोईराला प्रतिष्पर्धामा छन् । गण्डकी प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा होमिएका यी दुई उम्मेदवार मध्ये अधिकारी पूर्व गृह तथा स्वास्थ्य मन्त्री हुन् भने कोईराला गण्डकी प्रदेश सभा अन्तर्गतको अर्थ तथा विकास समितिका निवर्तमान सभापति हुन् ।
राजनीतिमा जेपनि हुन्छ भन्ने यो निर्वाचन क्षेत्रमा भएको भिडन्तले प्रष्ट पार्छ । किनकी यो क्षेत्रमा अघिल्लो निर्वाचनमा एक अर्काका सारथी बनेका अधिकारी र कोईराला अहिले प्रतिष्पर्धी बनेर आमनेसामने बनेका छन् । अनि अघिल्लो निर्वाचनमा कोईरालाका प्रतिष्पर्धी रहेका कांग्रेसका जीवन परियार अहिले तिनै माओवादी उम्मेदवार कोईरालाका सारथी बनेर निर्वाचनको नेतृत्व हाँकिरहेका छन् । राजनीतिमा बिरलै देखिने यो दृश्यले अहिले कास्कीका जनतालाई अचम्मित पारिरहेको छ ।
अहिलेका प्रतिष्पर्धी रहेका खगराज अघिल्लो निर्वाचनमा कास्की १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए । एमाले र माओवादी बीच एकता भई नेकपा बनेर चुनाव लडेकाले त्यस निर्वाचनमा उनीहरु एकअर्काका सारथी थिए । त्यहि भएर तत्कालीन चुनावताका खगराज आफ्ना समर्थकलाई भन्ने गर्थे,‘बरु मलाई भोट नहाल्नू तर यो दीपकलाई भोट हालेर जिताउनू । भोलि म आफै दीपकको प्रतिष्पर्धी बनेपनि मलाई भोट नहाल्नु बरु दीपकलाई नै हाल्नु । किनकी यो साह्रै असल छ । युवापनि छ र यसले भविष्यमा केहि न केहि गर्छ ।’ तर समय सँधै एकनास हुँदैन । अहिले परिस्थिति फेरिएको छ । हिजोको नेकपा फेरी एमाले र माओवादी बनेर पुरानै अवस्थामा फर्किएको छ । त्यहि भएर त हिजोका सारथी अधिकारी र कोईराला एकअर्काका प्रतिष्पर्धी बनेका छन् । तर हिजो कोईरालाका लागि भोट माग्दा दिएको अभिव्यक्ति अधिकारीका लागि अभिसाप बनेको छ । किनकी अघिल्लो पटक आफैले गरेको भाषण अहिले उनलाई निल्नु न ओकल्नु भएको छ ।
तर अघिल्लो पटक जोसँग पराजित भए कांग्रेसका सह–महामन्त्री जीवन परियार, अहिले तिनैलाई बोकेर हिंडिरहेका छन् । जसकाबिरुद्ध खरो भाषण गर्दै हिंड्थे उनी आज तिनैका लागि भोट मागिरहेका छन् । उनका लागि यो संयोग भनौं वा बाध्यता,‘कोईरालालाई जिताउने उनी र उनकै पार्टीलाई जिम्मेवारी आईपरेको छ । किनकी हिजोका प्रतिष्पर्धी पार्टी अहिले गठबन्धन बनाएर चुनावमा होमिएका छन् । त्यसैले त भनिन्छ,‘राजनीतिमा जेपनि सम्भव छ ।’
प्रतिष्पर्धालाई दुबै उम्मेदवारले सहज रुपमा लिएका छन् । त्यसैले त उनीहरु आमनेसामने भएका छन् । अधिकारी प्रदेशको मुख्यमन्त्री बन्ने भन्दै त्यसपछि विकासको मूल फुटाउने जनतालाई बताउने गरेका छन् । २०४८ सालदेखि पटक÷पटक निर्वाचन लडेका उनले जित र हार दुबैको स्वाद चाखिसकेका छन् । कास्कीबाट केन्द्रमा सिधा पहुँच पु¥याउनसक्ने नेता आफूमात्र भएको बताउने गरेका उनलाई बुढा नेता भएको आरोप लाग्ने गरेको छ ।
अर्कोतर्फ कोईराला युवा नेता हुन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिमा रहेर पोखरा रंगशालाभित्र बहुउद्देश्यीय भवन (कभर्ड हल) निर्माण गरेर नेतृत्वले चाहे विकास गर्न सकिन्छ भन्ने उनले प्रमाणित गरिसकेका छन् । तर उनलाईपनि केन्द्रमा सिधा पहुँच पु¥याउन नसक्ने आरोप विपक्षीले लगाउने गरेका छन् ।
यो निर्वाचन क्षेत्रमा दुबै पक्षले आफूले जित्ने दाबी गर्दै आएका छन् । स्थानिय तहको निर्वाचनमा गठबन्धन ५ सय मतले अघि छ । कोईराला भने यसपटक फराकिलो मतान्तरले जित्ने दाबी गर्छन् । विपक्षी मात्र होईन आफ्नै पार्टीका फरक विचार राख्नेबिरुद्ध असहिष्णु बन्ने अधिकारीको व्यवहारलाई ईंगित गर्दै अधिकारीले भने,‘अधिकारीको छुद्र बोली नै मेरो जितको आधार हो ।’
तर अधिकारी भने गृह क्षेत्रमा आफू बलियो रहेको बताउँछन् । स्थानिय तहमा देखिएको मतान्तर रुपा गाउँपालिकाबाट पूर्ति हुने उनी निकटकाहरु दाबी गर्छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





