नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिकास्थित झारगाउँमा सोमबार आयोजित कोणसभामा बोल्दै वरिष्ठ नेता पौडेलले उम्मेदवार बन्न मात्र नभई काम गर्ने दृढ संकल्प बोकेर आएको बताए ।
‘देशलाई अहिले सुशासन चाहिएको छ, सुशासन कायम गरेपछि विकास संभव छ । अहिलेको गठबन्धन नेपाललाई सुशासन दिनका लागि बनेको हो,’ उनले भने ।
वरिष्ठ नेता पौडेलले आफूहरु जनतालाई ठूला सपना देखाउने पक्षमा नरहेको जिकिर गरे । ‘हामी रेल र पानीजहाजका कुरा गर्दैनौँ, जनताका आधारभूत आवश्यकताका कुरा गर्छौं, जे कुरा गर्छौं त्यो पूरा गर्छौं,’ पौडेलले भने ।
वरिष्ठ नेता पौडेलले कृषि क्रान्ति, पर्यटन र ऊर्जाले देश समृद्ध बन्ने बताउँदै त्यसतर्फ योजना बनाएर कार्यान्वयन गरिने बताए ।
‘बन्दीपुरको पर्यटन विश्वमाझ प्रख्यात छ, यसलाई थप विकास गर्नेतर्फ हाम्रो ध्यान रहनेछ’, पौडेलले भने ।
गाउँगाउँमा यातायात, बिजुली पुगेपनि रोजगारी नपुगेको भन्दै पौडेलले अब गाउँमा नै आम्दानी र रोजगारी पुर्याउन उद्योगधन्दा स्थापना गरिने दाबी गरे ।
देशलाई प्रतिगमनमा लैजाने षड्यन्त्र भएपछि ५ दलीय गठबन्धन बनेको चर्चा गर्दै पौडेलले जनताको हातमा आएको अधिकार बचाउन सबै एकै ठाउँमा उभिएको बताए ।
‘संविधान बचाउने सवालमा काँग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) को कुरा मिल्यो’, उनले भने ।
गोरखामा नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार बन्दा त्यहाँ नेपाली काँग्रेसले र तनहुँमा आफूलाई नेकपा माओवादीले मत हाल्ने पौडेलको भनाई थियो ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा…





