गलकोट। झोलुङ्गे पुलको जिल्लाका रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुङ्गे पुल थपिएका छन् । बागलुङबाट छिमेकी दुई जिल्लामा पुनः दुई लामा झोलुङ्गे पुल थपिँदैछन् । बागलुङ र पर्वत जोड्ने गरी निर्माण भएको पाँच सय ६७ मिटर लामो नेपालकै लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षभित्रै पुनः बागलुङ र पर्वत जोड्ने तथा बागलुङ र म्याग्दी जोड्ने दुई पुल निर्माण भइरहेका छन् ।
बागलुङ र पर्वत जोड्ने अर्को पाँच सय २४ मिटर लामो पुल निर्माण सुरु भएको छ भने बागलुङ र म्याग्दी जोड्ने गरी निर्माण भएको तीन सय ८८ मिटर लामो पुल निर्माणको अन्तिम चरणमा रहेको छ । बागलुङ नगरपालिका–१ रामरेखादेखि कालीगण्डकी माथि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी निर्माण भएको पाँच सय ६७ मिटर लामो पुल नेपालकै लामो भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडाँैले जनाएको छ ।
उक्त पुल रु ११ करोड लागतमा निर्माण सम्पन्न भएको छ । बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झुलुङ्गे पुल थपिएको एक वर्षमा नै बागलुङ–४ कुडुँले फेदीबाट म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने गरी तीन सय ८८ मिटर लामो पुल निर्माण सुरु भएको थियो । उक्त पुलको अहिले ८० प्रतिशत काम सकिएको पुल निर्माणको जिम्मा पाएको थानी हिमशिखर जेभी निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि नरहरि खड्काले जानकारी दिए ।
त्यस्तै सोही कम्पनीले भदौबाट बागलुङ–४ उपल्लाचौरदेखि पर्वतको जलजला गाउँपालिका–८ ओडारे जोड्ने गरी कालीगण्डकी नदीमा अर्को पाँच सय २४ मिटर लामो पुल निर्माण सुरु भएको छ । बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले म्याग्दीको बेनी–१ रत्नेचौरदेखि बागलुङ–४ कुडुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण डेढ वर्षअघि सुरु गरेको थियो ।
निर्माण कम्पनीका अनुसार पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । खड्काले आफ्नो निर्माण कम्पनीले जिम्मा पाएको झोलुङ्गे पुल सम्पन्न गर्नुपर्ने मितिभन्दा अगावै सम्पन्न भइरहेको बताउनुभयो । कुडुँलेदेखि रत्नेचौर जोड्ने पुल रु तीन करोड ५० लाखमा निर्माण गरिएको छ । एक सय ७० मिटर अग्लो कुडुले रत्नेचौर जोड्ने झोलुङ्गे पुलले दुई जिल्लाको यात्रालाई सहज बनाउँदै पर्यटन विकासमा टेवा पु¥याउनेछ ।
उक्त पुलको दायाँ र बायाँतर्फ जाली हालेर लट्ठा कस्ने, भार परीक्षण र प्राविधिक नापजाँचको काम मात्रै बाँकी रहेको छ । पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिनाका साथै रत्नेचौरमा उत्पादन हुने तरकारी र दूध बजारीकरण गर्न र पैदलमार्ग हुँदै बेनी–बागलुङ आवतजावत गर्ने सर्वसाधारणका लागि सहज हुने बागलुङ–४ का वडाध्यक्ष कुमारविक्रम क्षत्रीले जानकारी दिए ।
पुल निर्माणका लागि बागलुङतर्फको झन्डै छ आना जग्गा निःशुल्क दिएर विकासको ढोका खोलेको जग्गादाता राजेन्द्रबहादुर जिसीले बताए । उक्त पुल झन्डै रु सात करोड लागतमा निर्माण सुरु गरिएको छ । करोडौँ लागतका लामा झोलुङ्गे पुल धमाधम निर्माण हुँदा बागलुङ र बागलुङसँग जोडिएको छिमेकी जिल्ला पर्वत र म्याग्दीको समेत पर्यटनसँगै व्यापार व्यवसाय फस्टाउने स्थानीय गणेश पुरीले बर्ताए ।
चार वर्षको अवधिमा बागलुङबाट पर्वत जोड्ने दुई र म्याग्दी जोड्ने एक पुल रु २१ करोड खर्चमा निर्माण हुनेछन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







