अन्नपूर्ण गाउँपालिकाको घर–दैलोमा एमाले उम्मेदवाहरु

- पालिकामा वर्षेनी पर्यटनमैत्री कार्यक्रमहरु ल्याउँछौं


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०७९ मा प्रकाशित




पर्यटकीय क्षेत्रको रुपमा रहेको अन्नपूर्ण गाउँपालिकामा वर्षेनी पर्यटनमैत्री कार्यक्रमहरु ल्याउने एमाले उम्मेदवारद्धय दामोदर पौडेल बैरागी र राजीव पहारीले अन्नपूर्णवासीलाई वचन दिएका छन्।

उनीहरुले पर्यटनको लागि मात्र वर्षेनी लाखौं रुपैयाँ वजेट विनियोजन गर्ने प्रतिवद्धता जनाएका छन्।

कास्की–३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल बैरागी र ३ ख का प्रदेश सभा सदस्य उम्मेदवार राजीव पहारीले बुधवार अन्नपूर्ण गाउँपालिकाका स्थानीयहरुसँगको भेटघाटमा यस्तो प्रतिवद्धता जनाएका हुन्।

यसअघि, स्थानीयले अन्नपूर्ण गाउँपालिका पर्यटकीयस्थल भएकाले सो क्षेत्रमा पर्यटनमैत्री कार्यक्रमहरु ल्याउन एमाले उम्मेदवारद्वयसँग माग राखेका थिए।

मंसीर ४ को निर्वाचन मिति नजिकिंदै गर्दा नेकपा एमाले कास्की क्षेत्र नम्वर ३ का उम्मेदवारद्वय पौडेल र पहारी घान्द्रुक, छोम्रोङ, दाङसिङ, सावेत, उल्लेरीलगायतका स्थानहरुमा पुगेर त्यहाँका जनताहरुको आर्शिवाद लिए।

सो क्रममा त्यस क्षेत्रका जनताहरुले एमाले पार्टी जनताको सुख दु:खको साथी भएको बताउँदै विकासको लहर ल्याउन एमाले उम्मेदवारहरुलाई विजयी गराउने उद्घोष गरे।

प्रदेश सभा उम्मेदवार पहारीले विभिन्न समुह, संघसंस्था लगातयसँग सहकार्य गर्दै सामुदायिक भवन, मठमन्दिर निर्माण कार्य लगायतमा सहयोग गरेको भन्दै योजना अन्तर्गत बाँकी रहेका अन्य थुप्रै काम सम्पन्न गर्न पनि एमाले उम्मेदवार विजयी हुनुपर्नेमा उनीहरुको जोड छ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार दामोदर पौडेलले अन्नपूर्ण गाउँपालिकामा प्राकृतिक सम्पदा तथा वातावरणको संरक्षण गर्दै कृषि र पर्यटनको समानान्तर विकासबाट नै सो क्षेत्रको मुहार फेर्ने प्रतिवद्धता जनाए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।