यही मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कास्की–२ (२) बाट नेकपा एमालेबाट महिला उम्मेदवार मिना गुरुङ चुनाबी प्रतिस्पर्धामा छिन्।
धेरै महिलाहरुलाई उद्यमशीलतामा जोड्ने सेतुको परिचय बनाएकी स्वयं मिना सौन्दर्यकर्मी र संघर्षशील महिलाका रुपमा पनि स्थापित भइसकेकी छिन्।
सामाजिक संघ–संस्था हुँदै श्रमिकहरुको संगठन (जिफन्ट)को नेतृत्वदायी भूमिका सफलतासाथ निभाएकी मिनालाई एमालेले कास्कीको निर्वाचन क्षेत्र नं २ (२) बाट उम्मेदवार बनाएको हो। हाल, मिना एमालेको प्रदेश कमिटीको सचिवालय सदस्य छिन्।
मिनाको जन्म र शिक्षा
वि.सं. २०१७ असोज १२ गते पोखरा रानीपौवामा पिता कृष्णबहादुर गुरुङ र माता धनकुमारी गुरुङको सन्तानको रुपमा जन्म।
२०३४ मा पोखराको अमरसिंह माविबाट एसएलसी उत्तीर्ण। महेन्द्र उच्चमाविबाट प्लस टु र पोखरा बहुमुखी क्याम्पसबाट (आम संचार तथा पत्रकारिता) विषयमा स्नातक उत्तीर्ण। हाल, उनी सीजेएमसी कलेज काठमाण्डौंमा स्नाकोत्तर तहमा अध्ययनरत्।
संघर्षशील मिना
२०३४ मा लेफ्टिनेन्ट क्षत्रबहादुर गुरुङसँग वैवाहिक जीवनमा बाँधिएकी मिनाको जीवन संघर्षपूर्ण छ। विवाहपछि बृटिश गोर्खा परिवारको हैसियतमा रहेर मिनाले हङकङस्थित बृटिस गोर्खा सैनिकहरुलाई सचेत, सूसुचित गराउने कार्यमा सूचनावाहकको काम गरिन्।
बृटिश सैनिक र बृटिस गोर्खा सैनिकको सेवा सुविधालाई लिएर बृटिस सरकारले वर्षौदेखि गर्दै आएको विभेदलाई अन्त्य गर्न गोर्खा भूपू सैनिकहरुको आन्दोलनमा मिनाको साथ र सहयोग रह्यो। बृटिस गोर्खा भूतपूर्व सैनिकको परिवार भएको हैसियतले पनि सो आन्दोलनमा मिनाले महिलाहरुको नेतृत्व सम्हालिन्। ’गोर्खा भूतपूर्व सैनिकहरुको सेवा सुविधा बृटिस सैनिकको सरह हुनपर्छ’ भनेर मिना सधैं महिलाहरुको अग्रमोर्चामा डटिरहिन्।
केही महिना श्रीमानको पेन्सन समेता रोक्का गरिएको कारण मिनाको घर–परिवारले आर्थिक अभाव समेत खेप्यो । तर, बृटिस सरकारसामु मिनाको घर–परिवारले आत्मसमर्पणको सोंच बनाएन। सट्टामा, मिनाले बृटिस गोर्खाहरुको न्यायिक आन्दोलनालाई साथ, समर्थन र निरन्तरता दिइ रहिन्। उपलब्धीस्वरुप, मिना नेतृत्वको त्यस महिला आन्दोलनले सफलता चुमेरै छाड्यो।
नेपालमै रहेरपनि यहाँको विभिन्न संचारमाध्यमहरुमा काम गरेको अनुभव मिनासँग छ। उनी गोर्खा भूपू समुदायले काठमाण्डौंमा संचालन गरेको सामुदायिक रेडियो गोर्खा र पोखरास्थित सामुदायिक रेडियो गोर्खालीको संचालक सदस्य समेत हुन्।
फरक धार र असंगठित ब्युटिसियन पेशालाई संगठित र मर्यादित बनाउने संघर्ष गरेकी मिनाले आफूलाई एक सफल समाजसेवी, श्रमिक नेतृ, सौन्दर्यकर्मी, संचारकर्मी तथा संचार उद्यमी मानिन्छन्।
कुशल संगठक मिना
फरक र असंगठित क्षेत्र ब्युटिसियन पेशामा आवद्ध महिलाहरुलाई संगठित बनाउने कार्यमा उनी अग्रसर रहिन्। देश–विदेशमा समेत फरक धार र असंगठित क्षेत्रको रुपमा चिनिएको सौन्दर्यकर्मी पेशालाई नेपालमा पहिलो पटक संगठित र मर्यादित बनाउन सकिन्छ भन्ने विश्वासका साथ मिनाले यस पेशामा आवद्ध महिलाहरुमा चेतना भर्ने काम गरिन्। यस अभियानकी अभियन्ता मिनाले ब्युटिसियनहरुको समस्या र अधिकारका लागि सार्वजनिक मञ्चबाट पहिलो पटक आवाज उठाइन्। ब्युटिपार्लर पेशा समाजमा स्वस्थ र मर्यादित छ भनेर स्थापित गरिन्।
निम्न तथा मध्यमवर्गिय धेरै महिलाहरुको सानो पुँजीबाट संचालन गर्दै आएको सौन्दर्यकर्मी पेशाबाट उनीहरुलाई स्वरोजगार, श्रमिक एवं उद्यमीका रुपमा परिचित गराउन सफल बनिन्। सौन्दर्यकर्मी पेशामा लागेका व्यवसायी महिलाहरुलाई राज्यबाट अनुदान सहयोग प्रदान गराउन पहल गरिन्। सौन्दर्यकर्मी पेशालाई व्यवसायिक र प्राञिक बनाउन पाठ्यक्रम बनाएर कलेज समेत संचालन।
पार्टी, संघ–संगठन र संस्थामा मिना
सुरुमा सामाजिक संघसंस्थामा रहेर काम गरेकी मिना सुरुमा गोर्खा भूपू महिला समिति सदस्य, २०५७ मा तमुधिं कास्कीको विभिन्न समिति, उपसमितिहरुमा सकृय थिइन्। मिना, २०६४ मा उद्यमी, महिला संघ कास्कीको अध्यक्ष र २०६५ मा लायन्स क्लब अफ सेती गण्डकीकी सदस्य बनिन्।
२०६९ देखि राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी संस्थापक अध्यक्ष मिना अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी–धौलागिरीको अध्यक्ष बनिन्। २०७४ देखि जिफन्टकी केन्द्रीय सदस्य छिन्।
२०७० मा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य बनेकी मिना ०७८ देखि यता हालसम्म पार्टीको गण्डकी प्रदेश कमिटी सदस्य छिन्।
२०७७ देखि लायन्स क्लब अफ कुमुदको अध्यक्ष र २०७७ देखि पोखरा मल्टिपल क्याम्पसको संचालक समिति सदस्य।

प्रदेशसभामा मिना
गण्डकी प्रदेशसभामा एमालेको तर्फबाट समानुपातिक कोटामा प्रदेशसभा सदस्य। प्रदेशसभाभित्र मिनाले विकास, समृद्धि, सुशासन, उपभोक्ताको हकहित, महिला तथा बालबालिकाको हकअधिकार सम्बन्धमा आवाजहरु उठाउने कार्यमा सक्रिय। बाटो, पुल, सामुदायिक भवन, खानेपानी, तटबन्ध निर्माणलगायत पछाडि पारिएका बर्ग, क्षेत्र, लिङ्ग, र समुदायमा भौतिक पूर्वाधारका विकासहरु पुर्याउन पहल।
मिनाको १० प्रतिबद्धता
मुलुकको भौतिक विकास निर्माण र आर्थिक समृद्धिका लागि पहल गर्ने।
सार्वजनिक सेवा प्रवाह चुस्त–दुरुस्त बनाउने।
नागरिकका आधारभूत आवश्यकताका वस्तुहरु स्वच्छ, खानेपानी, खाद्य सुरक्षा प्राप्त गर्ने कार्य एवं अभियानमा निरन्तर लागि रहने।
नागरिकका नि:शुल्क शिक्षा, स्वास्थ्य, युवाहरुले स्वदेशमै रोजगारी प्राप्त गर्ने संवैधानिक हक अधिकार सुनिश्चतताका लागि पहल गर्ने।
भूमिहीन सुकुम्वासीहरुको भूमी तथा आवास प्राप्त गर्ने अधिकारको सुनिश्चतता गर्ने
उद्यमी तथा व्यवसायीहरुलाई लगानीमैत्री वातावरण सृजना गर्ने।
अधिकांश महिलाहरुलाई उद्यमशीलतामा जोड्ने।
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसाको अन्त्य गर्न र विभेदरहित समाज निर्माण गर्न पहल गर्ने।
हरेक हिसावबाट पछाडि पारिएका वर्ग, क्षेत्र, लिङ्ग र समुदायको आर्थिक सामाजिक र भौतिक विकासका लागि पहल गर्ने।
औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुले प्राप्त गरेको सीप र क्षमताको स्तरीकरण गरी उचित पारिश्रमिक निर्धारण गर्न आवश्यक नीति निर्माणमा जोड दिने।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







