कास्की २ गटबन्धनका उम्मेदवार भन्छन्, ‘निरासालाई आसामा परिणत गर्छौंं’


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०७९ मा प्रकाशित





पोखरा २४ कात्तिक । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्कीमा गठबन्धनको तर्फबाट प्रतिनिधिसमा सदस्य उम्मेदवार श्रीनाथ बरालले जनताको निरासालाई आसा र भरोसामा परिणत गर्ने बताएका छन् । पोखरा १६ अर्मलाको डि गाउँमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


देशमा राजनीतिक परिवर्तन भएको तर जनताको अवस्थामा परिवर्तन नआउँदा निरासा पनि छाएको उनले उल्लेख गरे । ‘राजनीतिक परिवर्तन भयो । हाम्रो अवस्था परिवर्तन भएन । यहीँ गरिखाने अवस्था नरहँदा विदेशीनुपर्ने बाध्यता युवापंक्तिमा छ । घरगाउँमा अहिले बुढा बुवा आमा मात्र रहने अवस्था छ ।

अब देशमै केही गर्ने अवस्था आउनुपर्ने र रोजगारी पाउनुपर्ने आमरुपमा दाजुभाई दिदिबहिनीको अपेक्षा हो । अब गठबन्धनले यसको अभिभारा बहन गर्छ । हामी उम्मेदवार भएपछि यहाँहरुको जीवस्तर माथि उकास्ने । देशमै रोजगारीका अवसर सृजना गर्न नीति निर्माण गर्ने देखि वातावरण बनाउने काम हामीले गर्छौं’ उनले भने । विगतमा पटक पटक अवसर पाएकाहरुले काम नगर्दा र प्राप्त उपलब्धिलाई समेत भत्काउने प्रयत्न गर्दा समस्या आएको उनले सुनाए ।

त्यही भएरै आफूहरु विद्रोह गरेर नयाँ पार्टी निर्माण गर्दै गठबन्धनको माध्यमबाट जतामा आफै आएको उनको भनाई छ । उनले विगतमा कम्युनिस्ट र कांग्रेस मिलेर नै व्यवस्था परिवर्तन सम्भव भएको स्मरण गर्दै अब फेरि एकपटक मिलेर विकास र समृद्धिलाई अगाडि बढाउने उनले बताए । अहिले पोखरा महानगर गठबन्धनको नेतृत्वमा रहेको र प्रदेश सरकार अनि केन्द्र सरकारपनि गठबन्धनले नै बनाउने हुँदा जनभावना अनुरुप विकास र समृद्धि तर्फ अगाडि बढ्न सहज हुने उनले औल्याए ।

पर्यटन, कृषि, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा महत्वपूर्ण एजेण्डा आफूहरुसंग रहेको भन्दै उनले यसैको माध्यमबाट पोखराको विकास गरिने धारणा राखे । उत्पीडित, दलितको समस्या समाधान गर्न, भुमीहिन सुकुम्बासीका समस्या समाधान गर्न नै आफूहरुले निर्वाचित हुन जरुरी रहेको उनको भनाई छ । नेपाली कांग्रेसका नेता एवं कास्की २ (२)मा प्रदेससभा सदस्य पदका उम्मेदवार विन्दुकुमार थापाले अहिलेको व्यवस्था बलियो बनाउन गठबन्धन गरिएको बताए ।

उनले साढे ३ वर्ष एमालेको सरकार बनेको बनेको बेला १६ नम्बर वडा ओझेलमा परेको भन्दै त्यसपछी कांग्रेसको नेतृत्वमा सरकार बनेपछी विकास सुरु भएको उनको भनाई छ । जनतामा देखिएको निरासालाई आसामा परिणत गर्नकै लागि आफूहरु गठबन्धन गरेर आएको उनले बताए ।

अहिले स्थानीय सरकार समेत गठबन्धनको भएकाले प्रदेश र केन्द्रमा समेत गठबन्धनको सरकार बनेमा विकास निर्माण र संवृदी ल्याउन सकिने उनले बताए । उम्मेदवार थापाले अर्मलाकोटसम्म पुग्ने सडक स्तरोन्नति गरेर बार्है मासे चल्ने बनाउने र अर्को नारायण स्थान–भलाम हुँदै अर्मला कोटसम्मको गौरवको सडक समपन्न हुने अवस्थामा पुगेको जानकारी दिए ।

भलामबाट आटिघर र मौजाबाट आउने र बाटुलेचौरबाट आउने रिङरोड सडक अगाडि बढेको उनले बताए । उक्त वडामा मात्र १ अर्व १८ करोड बजेट छुट्टीएको भन्दै उनले वडा नम्बर १६ समृद्ध वडा बनाउन आफू लागिपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाली कांग्रेसबाट समानुपातिक तर्फ गण्डकी प्रदेशसभा सदस्य पदका उम्मेदवार लक्ष्मी पाण्डे, स्थानीय कांग्रेस नेता राधाकृष्ण गुरूङ लगायतले बोेलेका थिए ।

यस अगाडि उम्मेदवारहरुले २०४६ सालको आन्दोलनका कमाण्डर लौह पुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेर विहिबारको घरदैलो कार्यक्रम सुरु गरेका हुन् । यता पोखरा १७ ड्यामसाइड क्षेत्रमा नेकपा माओवादी केन्द्रका नेता एवं कास्की २ (१) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकास लामिछाने र नेपाली कांग्रेसको तर्फबाट समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार वृन्दादेवी रानासहित गठबन्धनका नेता कार्यकर्ता घरदैलोमा सहभागी छन् ।

घरदैलोको क्रममा उम्मेदवार लामिछानेले आफूले ड्यामसाइड क्षेत्रमा सौन्दर्यकरण गरेर पर्यटकको बहाव फर्काउने बताए । पहिले ड्यामसाइड नै पर्यटकको मुख्य केन्द्र रहेकोमा अहिले सर्दैै सिरान तर्फ पुगेको चर्चा गरेका उनले ड्यामसाड हुँदै पातालेछाँगोसम्म फटट्रयाक निर्माण गर्ने र गुप्तेश्वर गुफा लगायतको क्षेत्रमा पर्यटकीय पूर्वाधारले आकर्षण बढाउने धारणा राखे । फेवातालको स्वच्छता कायम गराउन सके पर्यटक ड्यामसाईड क्षेत्रमा बस्ने उनको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।