आज फाल्गुननन्द जयन्ती


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०७९ मा प्रकाशित




आज कार्तिक २५ गते किरात धर्मावलम्बीका महागुरु फाल्गुननन्दको १३८ औं जन्मजयन्ती।

विविध कार्यक्रम गरी समाज सुधारक एवं युग पुरुष फाल्गुनन्द जयन्ती मनाइँदैछ।

हरेक वर्षको कार्तिक १५ गते किरात धर्मावलम्बीहरुले विविध कार्यक्रम, पूजाआजा गरी फाल्गुननन्द जयन्ती मनाउँदै आएका छन्।

वि.सं. १९४२ कार्तिक २५ गते इलामको पश्चिमी क्षेत्र चुक्चिनाम्बामा जन्मिएका फाल्गुननन्दले समाज सुधारमा महत्पूर्ण योगदान दिएका छन्। समाज सुधारकका रूपमा लिइने फाल्गुननन्दको पूरा नाम चाहिँ फाल्गुननन्द लिङ्देन हो। उनलाई अति प्रतिष्ठित गुरु, सत्य वक्ता र साधुका रूपमा पनि लिने गरिएको छ। उनले दिएका दिव्य ज्ञान अनि परम सत्य वचनहरूले आजपनि मानव जीवनको विभिन्न कालखण्डमा सत्मार्ग देखाउने गरेको पाइन्छ। यी नै सामाजिक अनि आध्यात्मिक चिन्तनका गुरु फाल्गुननन्दको सम्झनामा नेपालका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमहरू गरिन्छ।

उनले किरात धर्मावलम्बीहरुको मुन्धुमलाई लिखित रुपमा ल्याउन सुरुवात गरे। उनको पहलमा पाँचथरको चोकमागुमा वि.सं. १९८८ मा गरिएको बृहत् भेलाले गरेको ‘सत्यधर्म मुचुल्का’ नामक निर्णयमा छोरीचेलीलाई छोरा समान शिक्षा, अंश दिनुपर्ने, बलि प्रथा अन्त्य गर्नुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उल्लेख छ।

उनले समाज सुधारका लागि गरेको कार्यको सम्मान गर्दै सरकारले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको छ। नेपाल सरकारले २०६६ साल मंसीर १६ गते फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। उनको सम्मान स्वरुप पाँचथर जिल्लामा एक गाउँपालिको नाम फाल्गुननन्द गाउँपालिका राखिएको छ। अनि झापा जिल्लाको शान्तिनगरमा उनको पूर्ण कदको प्रतिमा पनि स्थापित गरिएको छ। त्यस्तै, दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुननन्द राजमार्ग नामकरण गरेको छ।

प्रेम र अहिंसाका अनुयायी तथा प्रतीकका रूपमा पनि चिनिने गुरु फाल्गुननन्दको तस्बिर प्रयोग गरेर नेपाल सरकारले हुलाक टिकट पनि जारी गरेको छ।

करिब ९ वर्ष ब्रिटिस गोर्खा सैनिकमा बिताएका फाल्गुनन्दले सैनिक जीवनबाट फर्किएपछि समाज सुधार र धार्मिक कार्यमा जीवन बिताए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।