मनोसामाजिक अपाङ्गता भएकाहरुको मताधिकार सुनिश्चितताको माग


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०७९ मा प्रकाशित




पोखरा २४ कात्र्तिक
आसन्न मङ्सिर ४ गते हुन गइरहेको आमनिर्वाचनमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले अन्य व्यक्ति सरह समान रूपले प्रतिनिधित्व गर्न पाउने वा मत दिने वातावरण नभएको भन्दै प्रदेश निर्वाचन अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
मनोसामाजिक अपांगतामा रहेको व्यक्ति इन्द्रराज सुवेदी, कल्याणवन्धु वाग्ले सहितको टोलीले विभिन्न कानुन निर्देशिका लगायतमा भएको विभेदकारी प्रावधानका कारण मनोसामाजिक अपाङ्गता भएकाहरु मताधिकार एवम् उम्मेदवार हुने अधिकारबाट बञ्चित हुनु परेको जनाउँदै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
मतदाता नामावली ऐन २०७३ स्थानीय तह निर्वाचन ऐन, २०७३ प्रतिनिधि सभा सदस्य ऐन, २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन २३(२) (क) १३(४), (३) १२ (अ) १२) प्रचलित नियमावली तथा निर्देशिकाहरूमा मानसिक सन्तुलन ठीक नभएको व्यक्ति चुनावी प्रक्रियामा भाग लिई मतदान गर्न र उम्मेदवार हुन अयोग्य छन् भनी किटान गरिएकाले यस अवस्थामा व्यक्तिहरुले आफ्नो अधिकार उपभोग गर्नबाट बञ्चित भएकाले यसलाई संशोधन गर्नुपर्ने उनीहरुको माग छ ।
संविधानको प्रस्तावनामा सामाजिक न्याय सुनिश्चितता गर्ने समानुपातिक समावेशी सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरिएको भए विभेदकारी कानुनले यस अवस्थाका व्यक्ति मताधिकारबाट बञ्चित हुनु परेको इन्द्रराज सुवेदीले बताए । उनले भने “विशेषगरी मनोसामाजिक अपाङ्गता भएका व्यक्तिको विरुद्ध कायम रहेका विभेदकारी निर्वाचन सम्बन्धी कानुनी व्यवस्थालाई महासन्धि २००६ को धारा ४ को १ (ख) बमोजिम खारेजी वा संशोधन गरी एक व्यक्तिको नागरिक अधिकार हनन हुन नदिन ध्यानाकर्षण पत्र बुझाएका हौ ।” उनले उल्लिखित ऐनमा व्यवस्था गरिएका मानसिक समस्या वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई आफ्नो मताधिकार प्रयोग वा उम्मेदवार बन्नबाट रोक लगाउने बुँदाहरू हटाउनु पर्ने माग ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको बताए ।
प्रदेश निर्वाचन अधिकृत पराजुलीले निकै पहिले देखिनै उठिरहेको यस विषय महत्वपूर्ण रहेको जनाउँदै कसैको आत्मसम्मान माथि चोट पुग्ने र मताधिकारबाट बञ्चित हुने कार्यलाई रोक्न सक्दो पहल गर्ने बताउनुभयो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।