कस्केली जनताले देखेका विकासका मोडेललाई पूरा गर्ने प्रतिबद्धतासहित निर्वाचनमा होमिएकी विद्या भट्टराई


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०७९ मा प्रकाशित




विद्या भट्टराई, नेपालको पछिल्लो राजनीतिमा एक गर्विलो नाम हो।

स्वच्छ र पारदर्शी छविले पछिल्लो समय सबैको मन जितेर राजनीतिमा स्थापित भट्टराई तार्किक, बौद्धिक, प्राज्ञिक र सरल व्यक्तित्वको रूपमा चिनिन्छिन्।

यसअघि, भएको उपनिर्वाचनमा कास्की क्षेत्र नं. २ बाट अत्यधिक मतले निर्वाचित भट्टराई पार्टी प्रतिको निरन्तर लगनशीलता र वफादारितासँगै कस्केलीको अगाडि पुन: चुनावी मैदानमा छिन्।

सामाजिक विभेद र आर्थिक असमानताका कारण महिलाहरू राजनीतिमा प्रतिस्पर्धी बन्ने सवालमा देखिएका चुनौतीहरुलाई सामना गरेर राजनीतिमा आउन चाहने आम महिलाका लागि उनी एक संघर्षशील र उदाहरणीय व्यतित्व हुन्। जस्तो सुकै चुनौतीलाई पनि योजनाका साथ पूरा गर्ने उनको दृढ अठोट छ।

समाजका विभिन्न आयामलाई क्षमतायुक्त भएका कारण उनी सामाजिक रुपान्तरणका लागि विवेकपूर्ण चेतसहितको नेतृत्व निर्माणमा विश्वास गर्छिन्।

काठमाडौ महानगरपालिका–७ चाबहिलमा वि.सं. २०३० साल कार्तिक १४ गते आमा टोमकुमारी र बुबा हेमराज भट्टराईको सन्तानका रूपमा जन्मिएकी भट्टराईमा कक्षा ७ मा अध्ययन गर्दादेखि नै राजनीतिक चेत विकास भइसकेको थियो।

किशोरीवस्थाबाटै परिवर्तनको पक्षमा आफूलाई उभ्याउन सफल उनले आजपर्यन्त राजनीतिका विभिन्न मोर्चामा रहेर आफूलाई अब्बल सावित गरिसकेकी छिन्। सकृय राजनीतिक जीवन व्यतित गरिरहेकै समयमा २०५६ सालमा लोकप्रिय नेता रविन्द्र अधिकारीसँगको विवाह बन्धनमा जोडिएकी भट्टराई र अधिकारीका २ छोराहरु छन्। ससुराबुवा इन्द्रप्रसाद अधिकारी सासुआमा अधिकारीसहित उनी संयुक्त परिवारमा छिन्।

तत्कालीन पर्यटनमन्त्री तथा लोकप्रिय नेता रविन्द्र अधिकारीलाई हेलिकप्टर दुर्घटनामा गुमाएको अवस्थामा शोकलाई शक्तिमा बदलेर गत उप निर्वाचनमा होमिएकी भट्टराईले स्व. युवा नेता अधिकारीका अधुरा सपनालाई पूरा गर्ने अठोट लिएकी छिन्।

सामाजिक असमानता र विभेदविरुद्धको अभियानलाई मजवुद बनाउने र कस्केली जनताले देखेका विकासका मोडेललाई पूरा गर्ने प्रतिबद्धता नै उनका मुख्य एजेण्डाहरु हुन्। यसअघि सांसद हुदा आफूले अघि सारेका विकासका योजनाहरू कोरोना संक्रमण र राजनीतिक: अस्थिरता लगायतका कारणले समयमै पूरा हुन नसकेका कारण ति योजनाहरुलाई अबका दिनमा पूरा गर्ने योजनामा छिन् विद्या।

सडक पूर्वाधार, भू–क्षय, बजारीकरण युवाहरूलाई स्वरोजगार र महिलाहरूलाई उद्यमशीलता र गुणस्तरीय सार्वजनिक स्वास्थ्य र शिक्षाको पहुँच विस्तारलगायत जनताको जीवनसँग जोडेर पोखराको प्राकृतिक सम्पन्नतालाई रक्षा गर्दै समृद्ध पोखरा निर्माणको सोंच उनमा छ।

एकीकृत शहरी विकासको मान्यताअनुरुप महानगरीय विकास मोडेललाई अवलम्बन गर्नु पर्ने धारणा राख्दै आएकी भट्टराईले समन्यायिक विकासको सोंचसहित योजना बनाउनु पर्नेमा जोड दिन्छिन्। उनले लैङ्गिक सहभागिता र समावेशी मान्यतालाई स्थापित गर्न, विभेदरहित समाज निर्माण गर्ने एक अभियन्ताका रूपमा संसद र संसदीय समितिमा प्रस्तुत गरेका विचार र खेलेको भूमिका निकै महत्वपूर्ण छन्।

संसदको २ वर्षे छोटो अवधिमा स्थानीय पूर्वाधार विकासको कार्यक्रमलाई जनमुखी, पारदर्शी र प्रभावकारी परिचालन गरी सकरात्मक सन्देश दिन सफल विद्या भट्टराई कस्केली जनताको आशा र भरोसालाई अझ सुदृढ बनाउँदै आसन्न निर्वाचनमा कस्केली जनताको माझमा नेकपा एमालेका तर्फबाट सूर्य ध्वजावहाक उम्मेदवारको रूपमा प्रस्तुत भएकी छिन्। बिगतका आयोजनाहरुलाई पूरा गर्न, शुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, संसदलाई जनमुखी नीति निर्माणमा केन्द्रीत गराउन र समाजवाद उन्मख समाज निर्माणका लागि भट्टराईले उम्मेदवारी दिएकी हुन्।

पद्मकन्या विद्याश्रम डिल्लीबजारबाट एसएलसी उत्तीर्ण गरेकी भट्टराईले पद्मकन्या क्याम्पस बागबजारबाट प्रविणता प्रमाण–पत्र तह र स्नातक तह उतीर्ण गरेकी छन्। त्रि.वि. कीर्तिपुरबाट समाजशास्त्र, मानवशास्त्रमा स्नातकोत्तर गरेकी विद्याले त्रि.वि.बाटै समाजशास्त्रमा एमफिल गरेकी छिन्।

लैङ्गिक अधिकार, सुरक्षित मातृत्व, यौन तथा प्रजनन अधिकार, सामाजिक विकास, समाज रुपान्तरण, अपांगता भएका व्यक्तिहरूको लोकतान्त्रिक व्यवस्थामा मुलप्रवाहीकरण जस्ता विषयहरूमा अनुसन्धान गर्दै स्रोतव्यक्तिको रूपमा समेत उनी सक्रिय छिन्। उप–निर्वाचनबाट सांसद निर्वाचित भए पश्चात् उनले संसदमा उठाएका ज्वलन्त सवालहरूले देश, जनता, समुदायप्रतिको उनको जिम्मेवारी, जवाफदेहिता र हुटहुटी स्पष्ट देखिन्छ। उनी जनप्रतिनिधिका रूपमा जनजीवनका सवाल उठान गर्ने जनप्रेमी सांसदको रूपमा समेत चिनिन्छन्। राजनीतिमा उग्रता र गालीगलौज भन्दा सभ्य र शान्त तवरको कार्यशैली रुचाउने राजनीतिक विशेषता र संस्कार उनीभित्र छ।

विद्याको राजनीतिक र सामाजिक संलग्नता

काठमाण्डौंको चावहिलस्थित मित्र मावि चावहिलबाट कक्षा ७ मा अध्ययनरत हुँदादेखि नै विद्यार्थी राजनीति अनेरास्ववियुमा आवद्ध।

२०४५ मा भारतीय नाकाबन्दीकाविरुद्ध अनेरास्ववियुको आन्दोलनमा सहभागी।

२०४६/०४७ को जनआन्दोलनमा पद्मकन्या क्याम्पसमा अनेरास्ववियुको तर्फबाट अगुवाई गर्दै आन्दोलनमा सक्रिय सहभागिता।

२०४७ मा नेकपा (एमाले) को संगठित सदस्यता प्राप्त गरी पार्टीको संगठित यात्रा आरम्भ।

२०४८ मा पोखरामा सम्पन्न एकताको एघारौं राष्ट्रिय सम्मेलनमा अनेरास्ववियुको राष्ट्रिय परिषद सदस्य।

२०४९ मा पद्मकन्या क्याम्पसको स्ववियुको सभापतिमा अनेरास्ववियुको तर्फबाट उम्मेदवार।

२०५० सालमा अनेरास्ववियुको केन्द्रीय कमिटी महिला विभाग प्रमुख हुँदै २०५० देखि २०५५ सम्म केन्द्रीय सचिवालय सदस्य तथा विभागीय प्रमुख।

२०६५ मा अनेरास्ववियु केन्द्रीय कमिटीको सचिव, २०५६ मा अनेमसंघको केन्द्रीय सदस्य तथा कार्यालय सचिव।

२०५८ मा बुद्धिजीवी परिषद्को केन्द्रीय सदस्य।

२०५९ साल देखि पृथ्वीनारायण क्याम्पस पोखराबाट प्राध्यापन पेशा प्रारम्भ गरी उनले आंशिक तथा स्थायी गरेर विभिन्न क्याम्पसमा १७ वर्ष प्राध्यापन गरिन्।

२०६२/०६३ को लोकतान्त्रिक आन्दोलनमा प्रगतिशील प्राध्यापक संगठनमार्फत सक्रिय सहभागिता।

२०६२ देखि २०६४ सम्म उच्च शिक्षा पाठ्यक्रम निर्माण समतिको सदस्य।

२०६४ मा नेकपा (एमाले) उपत्यका कमिटीको महिला विभाग सचिव।

२०६६ सालमा नेकपा (एमाले) सामुदायिक क्याम्पस ईलाका कमिटीको उपाध्यक्ष।

२०६२ देखि २०६६ मा पार्टी संघीय मामिला विभाग र २०७० देखि २०७४ सालमा पार्टी केन्द्रीय शिक्षा तथा मानव श्रोत विभागको सदस्य।

२०७६ मा सम्पन्न उपनिर्वाचनमा त्रिभुवन विश्वविद्यालयको उप–प्राध्यापकको पदबाट राजिनामा दिएर तत्कालीन नेकपाको तर्फबाट कास्की–२ बाट उम्मेदवार बनी विजयी समेत।

२०६७ देखि २०७० मा सार्कस्तरीय महिला सञ्जालको वकालत गर्ने संस्था वियोण्ड वेजिटको कार्यक्रम संयोजक बन्दै नेपाली महिलाको प्रजनन स्वास्थ्य अधिकार र बेइजिङ अन्तराष्ट्रिय सम्मेलनद्वारा निर्माण गरिएको बेइजिङ कार्ययोजना कार्यान्वयनमा संस्थाको तर्फबाट नेतृत्वदायी भूमिका।

आधा दर्जन भन्दा बढी अन्तर्राष्ट्रिय सेमिनार तथा गोष्टीहरूमा नेपालको तर्फबाट कार्यपत्र प्रस्तुत गरिसकेकी छन्।

नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी विद्या भट्टराई हाल पार्टीको कास्की जिल्ला सह इन्चार्ज हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।