दीपक कोइरालाको पहिचान, व्यवहारमा मिलनसार, काममा परिपक्व


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०७९ मा प्रकाशित




हरेकजसो चुनावी सभामा काँग्रेस नेता यज्ञबहादुर थापा कास्की–१ को (१) मा प्रदेशसभा सदस्य उम्मेदवार दीपक कोइरालाको तारिफ गर्छन्।

कोइरालाले आफ्नो पहिलो कार्यकालमा थुप्रै काम गरेको भएपनि प्रचार–प्रसार नगरेकोमा गाली पनि गर्छन्।

थापा भन्छन्, ‘उनी मिजासिलो छन्। सबैसँग मिल्छन्। धेरै काम गरेर पनि आफूले यो, यो गरे भनेर भन्न जान्दैनन्।’

पूर्वमन्त्री समेत रहेका थापा उम्मेदवार कोइरालाले चुनाव जितेपछि प्रदेशको ‘पावरफुल’ मन्त्रालय सम्हाल्ने पक्कापक्की रहेको मतदातालाई बताउँछन्।

‘यत्तिको युवा नेता यो क्षेत्रले पाएको छ। जितेर गएपछि मन्त्री बन्छ, बन्छ,’ उनले मतदाताको बीचमा भन्ने गरेका छन्, ‘व्यवहारमा मिलनसार पनि छ, काममा परिपक्वता पनि छ।’

थापाको भनाइलाई पुष्टि गर्ने आधार हो, गत साता पोखरा–३१ वेगनासको घटना। पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार कोइराला चुनावी घर–दैलोको क्रममा वेगनास पुगे। त्यहाँ अर्को दलका उम्मेदवार र कार्यकर्ता जम्मा भएर बसेका थिए।

कोइराला आफ्ना प्रतिस्पर्धीसँग हार्दिकता साट्न पुगे। ती दल समर्थक कार्यकर्ताले स्वागत गरे। कोइरालाका प्रतिस्पर्धीले भने मुन्टो बटार्दै आफ्नो पार्टीको आन्तरिक कार्यक्रम भएकोले त्यहाँबाट गइहाल्न भने। नमस्कारसम्म फर्काएनन्। आफ्नै पार्टीको उम्मेदवारको यस्तो व्यहोरा देखेर उनकै पार्टीका कार्यकर्ताले कोइरालासँग माफि मागे। आफ्नै उम्मेदवारको छुद्र बानी अझै नसुध्रिएकोमा दुखमनाउ गरे।

त्यसो त, ०७४ मा निर्वाचित हुँदा नै कोइराला सबैसँग घुलमिल हुने युवा नेताको रुपमा चिनिन्थे। उनी बालकालिकादेखि वृद्धवृद्धासम्म समान व्यहारा गर्थे। निर्वाचित भएपछि उनी पटक–पटक मतदाताकोमा पुगे। सर्वसाधरणले गर्ने हरेक फोन उठाए। उनीहरुले आग्रह गरेको काम सकभर पूरा गरे। उनको यो व्यवहार अहिलेको निर्वाचनमा पनि देखिन्छ। घर–दैलोको क्रममा उनी उमेर अनुसारको सम्बोधन र सम्मान सर्वसाधारणलाई गर्छन्। उनको हार्दिकता देखेर मतदाता समेत मोहित छन्।

कामको परिपक्वता उनले ५ वर्षमा गरेका विकास निर्माणमा झल्किन्छ। ५ वर्ष संसदमा पुगेर नीति बनाउन खर्चिए पनि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत जनतासँग प्रत्यक्षरुपमा जोडिए। स्थानीय आवश्यकता पहिचान गरेर तिनलाई सम्बोधन गर्न अहोरात्र खटिए। पोखरा र लेखनाथको भूगोल मिलेर पोखरा महानगरपालिका बनेपनि मन मिलेको थिएन।

साविकको लेखनाथ नगरपालिकावासीले महानगरमा अपनत्व लिन सकेका थिएनन्। उनले केही योजना साविक लेखनाथ क्षेत्रमा लगे। उदाहरणको संक्रामक तथा सरुवा रोग अस्पताल। कोरोना महामारीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले संक्रमितको चाप थेग्न नसक्दा उनकै पहलमा साविकको लेखनाथ लायन्स अस्पताललाई संक्रामक तथा सरुवा रोग अस्पतालमा रुपान्तरण गरियो। लेखनाथमै प्रदेशस्तरको आयूर्वेद अस्पताल निर्माण भयो। गण्डकी विश्वविद्यालय लेखनाथमै स्थापना भयो। उनकै पहलमा पोखरा र साविक लेखनाथ जोड्ने गरी विजयपुर खोलामाथि २ वटा पुल बने। एउटा पुल निर्माणाधीन छ।

संसदमा रहेर निरन्तर जनताको पक्षमा आवाज उठाए। खबरदारी गरे। कोरोना महामारीको समयमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम खोप खरिद गर्न मिल्ने बनाउनुपर्ने आवाज उनले संसदमा उठाएका थिए। सरकार परिवर्तन हुँदा पनि ५ वर्ष नै विषयगत समितिका सभापति हुने उनी एक्ला सांसद हुन्। उनी ५ वर्ष अर्थ तथा विकास समिति सभापति भए।

त्यसक्रममा उनले मापदण्डविपरीतका क्रसर उद्योग बन्द गराउन निर्देशन दिएका थिए। बन्द भएको गोरखकाली रबर उद्योग टायर कारखालाई खोल्न उनले पहल गरे।

विकास निर्माणमा पनि उनले नयाँ र सिर्जनात्मक उपायको खोजी गरे। नेपालमै पहिलोपल्ट प्राकृतिक तालमाथि झोलुंगे पुल बनाए। रुपा तालमाथि बनाइएको झोलुंगे पुल अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको छ। वेगनासको जीर्ण बाँध मर्मत गरी फूटट्र्याक बनाए। वेगनास तालको सौन्दर्यीकरण गरे। उक्त फूटट्र्याक निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भयो। भण्डारढिक रंगशालाको स्तरोन्नति, कभर्ड हल निर्माणको सुरुवात, पचभैया चिडियाँखानालाई सहयोग, विभिन्न खानेपानी तथा सिंचाई आयोजनामा उनले बजेट विनियोजन गरे।

उनले टुक्रे भन्दा ठूलो योजनामा जोड दिए। रुपा गाउँपालिकामा ‘एक निर्वाचन क्षेत्र, एक नमुना सडक’ कार्यक्रमअन्तर्गत उनले रिङ रोड पुर्‍याए। रिङ रोडमा हालसम्म ३० करोड रुपैयाँभन्दा बढी बजेट खर्च भइसकेको छ। वेगनासदेखि भोर्लेटार जोड्ने सडक कालोपत्रे गर्न १० करोड रुपैयाँभन्दा बढी विनियोजन भएर खर्च भएको छ। रुपा गाउँपालिकाका अधिकांश बाटा प्रदेशकै बजेटबाट बनेका छन्। काँग्रेस सहमहामन्त्री जीवन परियार आफ्ना पूर्व प्रतिस्पर्धी दीपक कोइरालालाई जिताउन खटिएका छन्।

परियार भन्छन्, ‘अब पालो युवाहरुकै हो।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।