धवलागिरि क्षेत्रमा चुनावी सुरक्षा व्यवस्था चुस्त


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०७९ मा प्रकाशित




आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनाव शान्तिपूर्ण र भयरहित बनाउन धवलागिरि क्षेत्रका ४ वटै जिल्लामा सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । मतदानको दिन नजिकिँदै गर्दा सुरक्षाका दृष्टिबाट कुनै कमी कमजोरी हुन नदिन सुरक्षा निकाय लागिपरेका छन् ।

बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका जिल्ला सुरक्षा समितिले मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी सुरक्षा रणनीति तयार पारेका छन् । विगतका घटनाको विश्लेषण, मतदाता संख्या, भौगोलिक अवस्थिति, मतदानस्थलको दूरी र राजनीतिक शक्ति सन्तुलनलाई हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । बागलुङका १ सय ६ मतदानस्थलमध्ये ३५ प्रतिशतलाई अतिसंवेदनशील, १५ प्रतिशतलाई संवेदनशील र ५० प्रतिशतलाई सामान्यमा वर्गीकरण गरिएको छ ।

मतदानस्थलको अवस्था र संवेदनशीलता हेरेर सुरक्षा योजना बनाइएको जिल्ला सुरक्षा समितिले जानकारी दिएको छ ।

समितिका प्रमुख एवं प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी रमेश ढकालले सुरक्षाकर्मीको खटनपटन टुंगिएको बताए ।

‘नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपद प्रहरी र राष्ट्रिय अनुसन्धान गरी चारओटै निकायको समन्वयमा सुरक्षा व्यवस्थापन भइरहेको छ,’ उनले भने, ‘मङ्सिर १ गतेसम्ममा कर्मचारीसहित सुरक्षाकर्मी मतदान केन्द्रमा पुगिसक्छन् ।’

राजनीतिक दलका चुनावी अभियान पनि सौहार्द र शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको उनले बताए ।

‘सुरक्षा व्यवस्था सुदृढ छ, कुनै पनि खालको चुनौती जिल्लामा छैन’, उनले भने, ‘चुनाव स्वच्छ, शान्त र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकाय कटिबद्ध छ ।’

चुनावी सुरक्षाका लागि म्याग्दीमा सात सय ३३ म्यादी र चार सय नौ जना जनपद प्रहरी परिचालन गरिएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले प्रजिअसहित सुरक्षा निकायका पदाधिकारीले जिल्लाका सबै मतदान केन्द्रको स्थलगत अध्ययन गरेपछि चुनावी सुरक्षा योजना बनाइएको बताए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।