पूर्वी नवलपुरमा कर्मचारीलक्षित नमुना मतदान अभ्यास


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०७९ मा प्रकाशित




प्रतिनिधसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मत बदरको सख्या घटाउने उद्देश्यले पूर्वी नवलपरासीका ८ वटै पालिकामा नमुना मतदान कार्यक्रम संचालन गरिएको छ।

अघिल्ला निर्वाचनभन्दा यसपटक फरक ढंगको मतपत्र रहेको हुँदा मतदातालाई मतदान प्रक्रिया सिकाउन नमुना मतदान गरिएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नवलपुरले जिल्लाका विभिन्न मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य सहायक कर्मचारीका लागि प्रदान गरिएको तालिम अन्तर्गत नै नमुना मतदान अभ्यास गरिएको हो।

२ संघीय र ४ प्रदेश सभा रहेको पूर्वी नवलपरासीमा खटिने कर्मचारीहरु मतदान अभ्यासमा सहभागी भएका थिए। जिल्लामा ११३ वटा मतदान स्थल र ३०२ वटा मतदान केन्द्र कायम गरिएको छ। कम्तीमा एउटा मतदान केन्द्रमा ८ जनाका दरले २ हजार ४१६ जना र अस्थायी मतदान केन्द्रमा मतदानमा ३ जना खटिनेछन्।

नमुना मतदानमा प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपत्रबारे जानकारी गराउने, मतदानको प्रक्रिया, मतदानस्थल र मतदान केन्द्र तथा मतदान अधिकृत र सहायक कर्मचारीको भूमिकाबारे पनि अभ्यासबाट जानकारी गराउन नमुना मतदान गराइएको थियो। निर्वाचनको दिनमा खटिने कर्मचारीहरुले कसरी काम गर्ने भन्ने बारेमा जानकारी दिन नमुना मतदान गरिएको उनले बताए।

अभ्यासका क्रममा एउटै मतदाताले ४ वटा छुट्टाछुट्टै मतपत्र लिएर छुट्टाछुट्टै बुथमा गएर मत हाल्नुपर्ने हुँदा केही अलमलमा परेका थिए।

नवलपुरमा जम्मा मतदाता २ लाख ६० हजार ४६१ जना छन्। जिल्लाभर पुरुष मतदाता १ लाख २४ हजार ३३६, महिला मतदाता १ लाख ३६ हजार १२१ र अन्य मतदाता ४ गरी जम्मा २ लाख ६० हजार ४६१ जना छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।