निर्वाचन आयोगले मंसीरको २, ४, र ५ गते विदा माग्यो


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०७९ मा प्रकाशित




निर्वाचन आयोगले यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।

आयोगले सरकारसँग यही मंसीर २ देखि ५ मंसिर गते सोमबारसम्मका लागि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ। मंसीर ३ गते भने शनिबार परेको छ।

आयोगले सार्वजनिक विदाका बारेमा केही दिनअघि नै निर्णय गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएकोमा यसबारे मन्त्रिपरिषदले भने निर्णय गरिसकेको छैन।

निर्वाचन हुने दिन मंसीर ४ गते आइतबार परेको छ। त्यसैले, यदि आयोगले गरेको सिफारिस मन्त्रीपरिषदबाट अनुमोदन भएमा शनिबारसहित ४ दिन लामो बिदा हुनेछ।

निर्वाचन आयोगले अधिकांश मतदानस्थलहरु विद्यालयमा राखिएकाले पनि पूर्व तयारीका लागि २ दिनअघि नै सार्वजनिक बिदाको माग गरेको हो।

यद्यपि, सरकारले भने निर्वाचनमा कति दिन बिदा दिने भन्ने बारेमा अहिलेसम्म निर्णय गरेको छैन।

यसअघि, त्रिभुवन विश्वविद्यालयले मंसीर १ गतेदेखि देखि मंसीर ५ गतेसम्म निर्वाचनका लागि बिदा दिने निर्णय गरिसकेको छ।

यद्यपि, गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भने सरकारले मतदानको दिन मात्र बिदा दिएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।