समस्या सुल्झाउँछौं, सम्भावना खोज्छौं – मीना


     एभरेस्ट आवाज    
     कार्तिक ३० गते २०७९ मा प्रकाशित




धेरै मानिस पहिला समस्या देख्छन्, संभावनातिर ध्यान दिँदैनन्।

यसका कारण हुन्: मान्छे नकारात्मक कुरामा रमाउँछ, सम्भावना देखिए पनि मेहनत गर्न र धैर्य गर्न चाहँदैन।

समस्या राम्ररी सुन्ने, बुझ्ने, योजना बनाउने र कार्यान्वयन गर्नेहरुले समाजको नेतृत्व गर्छन्, राजनीतिको नेतृत्व गर्छन्।
मंगलबार एमाले नेतृ मीना गुरुङले पोखरा–१६ का स्थानीयका समस्या सुनिन्, गुनासा बुझिन्।

कास्की–२ (२) मा एमालेकी उम्मेदवार उनी समानुपातिकबाट निवर्तमान प्रदेशसभा सदस्य भएकाले धेरै कुराबारे जानकारै थिइन्।

उनले भनिन्, ‘यहाँहरुका समस्याबारे केही हदमा जानकार छु। यहाँहरुकै सहभागिता र विज्ञको सुझावअनुसार योजना बनाएर समृद्धिको यात्रा हामी अघि बढाउँछौं।’

उम्मेदवार गुरुङले गएको कार्यकालमा स्रोतको सीमितता र सरकार परिवर्तनले धेरै काम गर्न नपाएको उनले सुनाइन्। सुन्दर भूगोल र प्रकृति रहेको यो क्षेत्र चाँडै समृद्ध र पर्यटनको केन्द्र बन्ने उनले उल्लेख गरिन्।

भन्छिन्, ‘एकै पटक सबै काम भइहाल्छन् भन्ने आश्वासन म दिन्नँ तर प्राथमिकीकरण गरेर हामी यसका समस्या सुल्झाउँछौं। संभावना खोज्छौं। जनताका माग पूरा गर्न संघ र प्रदेशमा एमालेको सरकार चाहिन्छ।’

एमाले नेतृत्वमा गण्डकी र संघ सरकार हुँदा दुवैतिर जग राख्नेदेखि राष्ट्रिय महत्वका योजना सुरु भएको उनले उल्लेख गरिन्।

‘बीचमा सरकार ढल्यो, सँगसँगै हाम्रा योजना पनि रोकिए। अबको चुनावपछि हाम्रो सरकार बन्छ। तर, हामी त्यस्तो खालको पूर्वाग्रही राजनीति गर्दैनौं।’

पार्टीको प्रतिवद्धता र अगाडी सारेका विकासका योजना र नीतिहरु नै जितका आधार भएको उनको भनाइ छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।