आजको मध्यरातबाट देशभर मदिरा बिक्री र सेवनमा प्रतिबन्ध


     एभरेस्ट आवाज    
     मंसिर १ गते २०७९ मा प्रकाशित




सरकारले आज (बिहीबार) मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसार–पसार तथा सेवनमा रोक लगाउने निर्णय गरेको छ।

निर्वाचन आयोगको निर्णयअनुसार सरकारले मतदानको ४८ घन्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने भएको हो।

मंसीर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था अनुसार उक्त निर्णय भएको हो।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २५ मा निर्वाचन अधिकृत तथा मतदान अधिकृतले रहेको सन्दर्भमा मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नको लागि मतदानको मिति भन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री, वितरण र सेवन निषेध गराउन निर्देशन दिइएको हो।

उक्त निर्णय कार्यान्वयन गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिइएको छ। मदिरा व्यवसायीलाई पनि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण नगर्न अनुरोध गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।