खगराज अधिकारी : कुशल संगठक, प्रष्ट र खरो विचारक


     एभरेस्ट आवाज    
     मंसिर १ गते २०७९ मा प्रकाशित




फाइल तस्विर : खगराज अधिकारी, नेता नेकपा (एमाले)

कास्की जिल्लाको बेगनासमा २०१८ साल चैत १३ गते जन्मिएका खगराज अधिकारी सानैदेखि राजनीतिक सुझबुझ भएका छरछिमेकका साथ हुर्किन पाए । उनको गाउँमा २०१५ सालमा पुष्पलाल पुगेकाले गाउँमा राजनीतिक चेतको सुझबुझ राम्रो थियो । त्यही परिवेशमा हुर्किएका अधिकारीले सानैदेखि समानताको वकालत गर्न थाले । गाउँमा कम्युनिस्टलाई अन्यायविरुद्ध लड्ने शक्ति भन्थे । अधिकारी पनि सानैदेखि अन्यायविरुद्ध लड्न चाहन्थे ।
बाबु शेषरमण उपाध्याय र आमा लिलादेवीको काखमा हुर्किँदै गर्दा अधिकारीले सत्य कुराको वकालत गर्ने शक्ति पाए, स्कुले जीवन केही ढिलो सुरु भए पनि विद्यालयमा शिक्षकहरुकै गल्तीविरुद्ध बोल्ने आँट र साहस, आत्मविश्वास र हिम्मत उनीमा जुटिसकेको थियो ।
एक रात उनको घर छेउमा बाघ आएको थियो । उनका बाबु शेषरमणले थाहा पाएपछि एक्लै बाघलाई लखेटे । गाउँले परिवेशका लागि यो सामान्य घटना हुनसक्छ, तर अधिकारीको जीवनमा यसले शिक्षा दियो– बाघजस्तो शक्तिशाली प्राणीलाई पनि मान्छेले लखेट्न सक्दो रहेछ अर्थात् मानिसले चाह्यो भने असम्भव केही छैन । गाउँमा सत्यको वकालतको प्रशंसा हुँदै गर्दा यो घटनाले अधिकारीको मनमा स्थायी प्रभाव प¥यो– सत्य कुरालाई अगाडि बढाउँदै झन् सफल हुन सकिन्छ, हामीले आँट्यौँ भने अत्यन्त असजिलो लागेको काम पनि सहज हुनसक्छ ।

नेपालको तत्कालीन परिस्थितिमा गाउँगाउँका विद्यालयहरुमा राजनीतिक संगठनहरु विस्तार हुँदै थिए । अधिकारीले पनि ११ वर्षको उमेरमा आनन्दज्योति माध्यमिक विद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को सभापतिको जिम्मेवारी पाए ।
स्कुले जीवनमा नै राजनीतिक संगठनमा काम गरेका अधिकारीले २०३३ सालमा पुष्पलाल समूहको एरिया कमिटी सदस्य भएर संगठानिक रुपमा आफूलाई अगाडि बढाए । त्यसपछि उनको राजनीतिक यात्रा अविराम अगाडि बढ्यो ।
२०३६ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को कास्की जिल्ला अध्यक्ष भएका अधिकारी उच्च अध्ययनका लागि काठमाडौं गए । तर परिवारको चाहनाविपरित उनी फेरि कास्की नै फर्किए, पोखराको पृथ्वी नारायण (पिएन) क्याम्पसमा विज्ञान विषय अध्ययनका लागि भर्ना भए । त्यहाँपनि उनी राजनीतिक संगठनमा नरहने कुरै भएन । २०३७ सालमा पिएन क्याम्पसमा स्ववियू सदस्य भएका अधिकारी २०३८ सालमा अनेरास्ववियूको केन्द्रीय सदस्य भए ।
त्यसको दुई वर्षपछि उनले अनेरास्ववियूको उपाध्यक्षको रुपमा जिम्मेवारी सम्हाले । अनेरास्ववियू उपाध्यक्ष भएका अधिकारीले पिएन क्याम्पसमा २०४० सालमा पहिलो पटक स्ववियू सभापतिमा जित हासिल गरे । दोस्रो पटक २०४१ सालमा फेरि स्ववियू सभापति भएका अधिकारी खुलेर बहुदलको पक्षमा लागेकाले तत्कालीन प्रशासनको तारो बनेका थिए । त्यसैले उनले २०३६ सालदेखि अर्धभूमिगत रहेर पार्टी र संगठनका लागि काम गरे ।
तर, २०४२ सालमा स्ववियू सभापति हुँदाहुँदै अधिकारीलाई प्रशासनले पक्राउ ग¥यो, २०४६ सालसम्म उनले नेपालका बिभिन्न स्थानमा जेलजीवन बिताए ।
कास्की, रौतहट, दमौली लगायतका जिल्लाका जेलमा पठाइएका अधिकारी २०४७ सालमा बनेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको संस्थापक केन्द्रीय सदस्य भए । २०४९ सालमा केन्द्रीय अनुशासन निरीक्षण कमिटी सदस्य भएका अधिकारी २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा कास्की–१ बाट प्रतिनिधिसभामा विजयी भए । २०५४ सालमा सचेतकको जिम्मेवारी पाएका अधिकारीले २०५१ मा सांसद् भएपछि कास्की जिल्लाको विकासमा खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा अहिले पनि हुने गरेको छ ।
अविछिन्न सुसँस्कृत तथा समृद्ध समाजको निर्माणमा लागिरहेका अधिकारीले २०६२–६३ सालमा भएको दोस्रो जनआन्दोलनमा पनि अग्रणी नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । प्रशासनले अधिकारीको यो नेतृत्वलाई सहेन, उनलाई पक्राउ गरियो र जेल हालियो ।
देशमा गणतन्त्र स्थापना पछि अधिकारीले नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी सम्हाले । २०७० साल चैत १३ गतेदेखि २०७२ साल असोज २५ गतेसम्म स्वास्थ्य तथा जनसंख्यामन्त्री हुँदा अधिकारीले थप विकास तथा कार्यान्वयनमा ल्याएको स्वास्थ्य बीमाको अवधारणा अहिले निकै प्रशंसित छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहँदा अधिकारी २०६५ सालमा भएको नेकपा एमालेको आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका थिए । उनलाई पार्टीले गण्डकी इन्चार्ज, संगठन विभागको सदस्य तथा पोलिटब्यूरो सदस्यको जिम्मेवारीसमेत दिएको थियो ।
सरकार सन्चालन तथा पार्टीको वैचारिक तथा सांगठनिक विकासमा कुशल संगठक रुपमा परिचित अधिकारीलाई २०७३ सालमा नेकपा एमालेले केन्द्रीय सल्लाहकार कमिटीको उपाध्यक्षको जिम्मेवारी दियो । २०७४ सालमा भएको आमनिर्वाचनमा कास्की १ बाट विजयी भएका अधिकारी २०७८ साल जेठ २७ गते नेपाल सरकारको गृहमन्त्री नियुक्त भए ।
२०७८ साल मंसिरमा चितवनमा भएको पार्टीको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित अधिकारी नेकपा एमालेको स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखको जिम्मेवारीमा कार्यरत छन् ।

अधिकारीलाई खरो विचारकको रुपमा लिईन्छ । उनी कुनैपनि विषयमा प्रष्ट धारणा बनाउँछन् र त्यो धारणामा अडिग रहने खरो विचारक भनेरपनि चिनिन्छन् । त्यसैले नबुझ्नेहरुले अधिकारीलाई छुद्र स्वाभावको भनेर आलोचना गर्नेगर्छन् । तर उनी राम्रो व्यवहार गर्नेलाई राम्रो र नराम्रो व्यवहार गर्नेलाई सोहि अनुसारको व्यवहार गर्छन् । उनी आफू निकटकालाई संरक्षण गर्नपनि माहिर छन् । त्यसैले त कास्कीमा उनको समूह हाबी छ ।

अधिकारीको २०७० सालसम्मको जीवनका आरोहअवरोह तथा राजनीतिक संघर्ष र यात्राको विषय समेटिएको सँस्मरण माया मारेको मान्छे प्रकाशित छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।