कास्कीका एक तिहाई मतदान स्थल अति संवेदनशील

- विप्लव नेकपा र नेकपा बहुमत निगरानीमा


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०७९ मा प्रकाशित




पोखरा, मंसिर ३

कास्कीका एक तिहाई मतदान स्थल अति संवेदनशील रहेका छन् । कास्कीमा रहेका कुल मतदान स्थल मध्ये एक तिहाई मतदान स्थल अति संवेदनशील रहेको सुरक्षा श्रोतले जनाएको छ । कास्कीमा बाँकी मतदान स्थलमध्ये एक तिहाई संवेदनशील र अर्को एक तिहाई सामान्य रहेको सुरक्षा श्रोतको भनाई छ ।

भोलि आईतबार हुने निर्वाचनका लागि कास्कीमा १५० मतदान स्थल रहेका छन् । जसमध्ये ५० वटा मतदान स्थल सामान्य, ५० वटा मतदान स्थल संवेदनशील र अन्य ५० वटा मतदान स्थल अति संवेदनशील रहेको श्रोतको दाबी छ ।

सामान्यतयाः सहरमा रहेका मतदान स्थलहरुलाई सामान्य, सहर उन्मुख क्षेत्रमा रहेका मतदान स्थलहरुलाई संवेदनशील र ग्रामिण र अति ग्रामिण (दुर्गम) क्षेत्रमा रहेका मतदान स्थलहरुलाई अति संवेदनशील भनेर सुरक्षा निकायले मतदान स्थलहरुको वर्गिकरण गरेको छ । त्यसबाहेक विगतका निर्वाचनमा समस्या आएका मतदान स्थललाई पनि अति संवेदनशील मतदान स्थलका रुपमा राखिएको छ । सुरक्षा मापदण्डका आधारमा मतदान स्थलको वर्गिकरण गरेपनि कास्कीमा खासै सुरक्षा चुनौति नभएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए ।

कास्कीका मादी, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकाका ग्रामिण क्षेत्रका मतदान स्थलहरु अति संवेदनशील मतदान स्थलका रुपमा हेरिन्छ । सुरक्षा निकायको नियमित निगरानीमा नरहेका, सवारी साधनको सहज पहुँच नभएका क्षेत्रमा रहेका मतदान स्थल तथा विगतका निर्वाचनमा समस्या देखिएका मतदान स्थलहरुलाई अति संवेदनशील मतदान स्थलका रुपमा राखिएको प्रहरी श्रोत बताउँछ ।

कास्की प्रहरीले कास्कीमा सुरक्षा थ्रेट नरहेको बताएको छ । यद्वपी कास्कीमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतलाई प्रमुख चुनौतिका रुपमा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए । तर अहिलेसम्म उनीहरुपनि शान्तिपूर्णबाहेक अन्य गतिविधिमा नरहेको उनको दाबी छ । तैपनि सुरक्षा निकायले उनीहरुको गतिविधिलाई निगरानीमा राखेर सुरक्षा व्यवस्था कडा बनाएको उनको भनाई छ । त्यसबाहेक चुनावमा भाग लिएका पार्टीहरुबीच हुनसक्ने झडप, पार्टी भित्रको गुटको अस्वस्थ प्रतिस्पर्धा पनि सुरक्षा चुनौतिका रुपमा आउनसक्ने भएकाले त्यसलाईपनि मध्यनजर गरेर सुरक्षा व्यवस्था मिलाएको सिडिओ केसीले बताए ।

कास्कीमा सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्था कायम गरिएको छ । कास्कीमा एउटा मतदान स्थलमा ८ देखि ३२ जनासम्म सुरक्षाकर्मी खटाईएको छ । जस अनुसार पहिलो घेरामा प्रहरी, दोश्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहनेछन् ।

कास्कीमा प्रतिनिधि सभाका ३ निर्वाचन क्षेत्र र प्रदेशका ६ निर्वाचन क्षेत्र रहेका छन् । यहाँ १५० मतदान स्थलमा ३४४ मतदान केन्द्र रहेका छन् । प्रत्येक मतदान केन्द्रमा ८ जनाका दरले कर्मचारी खटाइएको छ भने कुल २ हजार ७ सय ५८ कर्मचारी खटिएका छन् । प्रत्येक मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना सहयोगी हुन्छन् । २ अस्थायी मतदान केन्द्रमा भने ३–३ जनाका दरले कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

कास्कीमा प्रतिनिधि सभाका ३ र प्रदेशका ६ निर्वाचन क्षेत्रमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।