विश्वकप फुटबल: अर्जेन्टिना लयमा फर्कियो


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०७९ मा प्रकाशित




पहिलो खेलमा साउदी अरबलाई नतिजा सुम्पिएको अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको लयमा फर्किएको छ।

जारी फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले आफ्नो दोस्रो खेलमा जित निकालेको छ।

समूह ‘सी’ अन्तर्गत लुसेल रंगशालामा शनिबार राति भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलले हरायो। अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र इन्जो फर्नान्डेजले गोल गरे।

पहिलो हाफमा औसत खेल प्रदर्शन गरेको अर्जेन्टिना दोस्रो हाफमा खेलमा फर्किएको थियो। ६४ औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई अग्रता दिलाए। डिबक्सभित्रको मेस्सीको शसक्त प्रहार विपक्षी रक्षकलाई लाग्दै गोल भएको थियो।

त्यसपछि ८७ औं मिनेटमा इन्जो फर्नान्डेजले मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे। पहिलो जितसँगै ३ अंक बनाएको अर्जेन्टिना दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको पोल्यान्डको ४ अंक छ।

शनिबार नै भएको खेलमा पोल्यान्डले साउदी अरबलाई २–० गोलले हराएको छ। ३ अंक बनाएको साउदी अरब तेस्रो स्थानमा छ। अन्तिममा रहेको मेक्सिकोको १ अंक छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।