निर्वाचन आयोगले सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्यलाई अगाडि बढाउन निर्देशन दिएको छ।
सो क्षेत्रको मतगणना गर्ने क्रममा त्रुटि भएकोले पुन: मतगणनाको माग गर्दै सो क्षेत्रका नेपाली काँग्रेसका उम्मेदवार तथा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिएको निवेदन उपचार सुनुवाइ गर्दै आयोगले यस्तो निर्देशन दिएको हो।
सो क्षेत्रमा हालसम्मको मतगणनामा काँग्रेसका उम्मेदवार कार्कीले २३ हजार ४३९ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार जगदीशप्रसाद कुसियैतले २३ हजार ३४१ मत प्राप्त गरेका छन्।
आयोगको सो निर्देशन पाएपछि सो क्षेत्रका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले आयोगको निर्देशनअनुसार मतगणना कार्य अगाडि बढाउन मंगलबार बिहान ७ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिए।
सर्वदलीय बैठकपछि कति बजेबाट मतगणना गर्ने कार्यलाई अगाडि बढाउने भन्ने टुंगो लाग्ने छ। आयोगका उपसचिव ऋषिराम भुसालको हस्ताक्षर रहेको सो पत्रमा यसअघि मतगणना गर्दा सीसीटीभी भएको भए त्यसको फुटेज सम्बन्धित पक्षले हेर्न चाहेमा देखाउन र सुरक्षित राख्न पनि भनिएको छ।
आयोगको पत्रमा भनिएको छ, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ दुबैको दफा ५७ को उपदफा (१) बमोजिम कुनै मतदान केन्द्रको मतगणना समाप्त नहुँदै वा गणना गरिएको मतपत्र सिलबन्दी हुनु पहिले सम्बन्धित निर्वाचन क्षेत्रको कुनै उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले केही वा सबै मतपत्र दोहो(याई गणना गरिपाऊँ भनी तत्काल निर्वाचन अधिकृतसमक्ष कारणसहित निवेदन दिएमा उक्त मतदान केन्द्रको मतगणना भइनसकेको वा गणना भएको मतपत्र सिलबन्दी भइनसकेको भए ऐ. ऐनको ऐ. दफाको उपदफा (२) बमोजिम दोहोर्याई मतगणना गर्न सक्ने कानूनी व्यवस्था भएकाले निर्वाचन अधिकृतले गणना गर्न सक्ने तर कुनै मतदान केन्द्रको मतगणना भई मतपत्रहरु सिलबन्दी भइसकेको भए उक्त सिलबन्दी मतपत्रहरु खोली पुन: मतगणना गर्न सक्ने कानूनी आधार नदेखिएकाले ऐ. ऐनको ऐ. दफाको उपदफा (३) बमोजिमको सूचना दिई मतगणना कार्य सुचारु गर्न गराउन तथा मतगणनास्थलमा सिसीटिभी रहेको भए सोको फुटेजसमेत सुरक्षित राखी सम्बन्धित पक्षले हेर्न चाहेमा देखाउने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने भन्ने आयोगबाट मिति २०७९।०८।१२ मा निर्णय भएकाले निर्णयानुसार हुन अनुरोध छ।’
गोरखापत्रमा समाचार छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





