१६१ क्षेत्रको मतपरिणाम सार्वजनिक, ४ स्थानको बाँकी


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०७९ मा प्रकाशित




निर्वाचन क्षेत्रतर्फ प्रतिनिधि सभा सदस्यका लागि हालसम्म १ सय ६१ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ।

अब, १६५ मध्ये ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

आयोगको पछिल्लो मत गणनाको नतिजाअनुसार सुनसरी–४ मा मतगणना जारी छ। सुनसरी–४ मा नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता कायमै छ। उनले २५ हजार ९ सय ४४ प्राप्त गरेका छन्।

कार्कीलाई पछ्याइरहेका नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मत ल्याएका छन्। दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना नै सुरु हुन सकेको छैन।

हालसम्म १ सय ६१ ठाउँमध्ये काँग्रेस ५४, एमाले ४४, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० क्षेत्रबाट विजयी बनेका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाका उम्मेदवार ७/७ ठाउँमा विजयी भएका छन्। स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जित हात पारेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४, नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेका छन्। जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले १/१ ठाउँमा जितेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।