गलकोट । सुन्तला गाउँका नामले परिचय बनाएको बागलुङ नगरपालिका–८ सिगानामा बोटबाटै सुन्तला बिक्री हुन थालेको छ । सिगानाका यामबहादुर केसीले आफ्ना एक दर्जन सुन्तलाका बोटलाई एकमुष्ठ रु ४५ हजारमा पोखराका व्यापारीलाई बिक्री गरे । सुन्तला व्यापारीले बोटबाटै टिपेर सुन्तला लैजाने गरी सिगानाका अधिकांश सुन्तला किसानले सम्झौता गर्ने गरेका छन् भने केहीले आफै टिपेर पोखरा पठाउने गरेका छन् ।
केसी मात्रै होइन् सिगानाका सुन्तला किसान टोपबहादुर केसीले आफ्नो सुन्तला बगान रु दुई लाखमा व्यापारीलाई बिक्री गर्ने सम्झौता गरिसक्नुभयो भने अर्का किसान लेखनाथ गौतमले रु एक लाख ८० हजारमा आफ्नो बगानमा रहेका सुन्तला बिक्री गरे । सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काले यसपटक गत वर्षको तुलनामा सुन्तलाको उत्पादन बढेको बताए ।
उनले गतवर्ष रु तीन लाखको सुन्तला बिक्री गरेकामा यसवर्ष रु चार लाखको सुन्तला बिक्री गर्ने लक्ष्य राखेका छन । उनका अनुसार यहाँका किसानले बोटबाटै सुन्तला बिक्री गर्ने गरेको र थोरैले मात्रै आफै टिपेर बिक्री गर्ने गरेका छन् । खड्काका अनुसार सिगानाका सुन्तला पोखरामा बढी माग हुने गरेकाले व्यापारी सिधैँ यहाँ आएर बोटबाटै सुन्तला खरिद गरेर लैजाने गर्दछन् ।
सुन्तला उत्पादनको आधा आफै टिपेर पोखरा पु¥याएको अर्का सुन्तला किसान अनन्तबहादुर खड्काले बताए । उनको सुन्तला बगैँचामा दुई बोटमा लटरम्म सुन्तला पाकेका छन् । आफै टिपेर पोखरा पु¥याउँदा नाफा बढी हुने उनको भनाइ छ । खड्काले किसानले सुन्तलाको उचित मूल्य नपाए पनि बजारमा सुन्तलाको भाउमा वृद्धि भएको बताए ।
सिगानाका किसानले सुन्तला बिक्रिबाटै वार्षिक रुपमा रु दुईदेखि तीन करोड भित्र्याउँदै आएका छन् । सुन्तला बगैँचा विस्तार, मलजल र राम्रो मौसमका कारण एकै गाउँ सिगानामा अहिले गत वर्षभन्दा धेरै सुन्तला उत्पादन भएको किसानले बताएका छन् । सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको सो गाउँमा यस वर्ष २० प्रतिशत सुन्तला उत्पादनमा वृद्धि भएको छ भने सिगानामा राम्रो फल दिने १३ हजारभन्दा बढी बोट रहेका छन् ।
पाँच वर्षमा सिगानामा १० हजार सुन्तलाका नयाँ बिरुवा थपिएकाले वर्सेनि सुन्तला उत्पादनमा वृद्धि हुने बताइएको छ । उपयुक्त हावापानी भएका कारण सिगानामा सुन्तला रोपेको तीन वर्षमै उत्पादन दिन थालेको सुन्तला किसान तथा निर्वतमान वडाध्यक्ष राजन जिसीले जानकारी दिए । सिगानाका अधिकांश किसान अन्य खेती छोडेर सुन्तला खेतीमा आर्कषित हुन थालेका छन् ।
सिगाना गाउँमा सम्बन्धित निकायबाट प्राविधिक र व्यवस्थापकीय सहयोग भएमा सुन्तलाखेती अझै बढाउने सोचमा किसान छन् । सुन्तला खेतीलाई आवश्यक मल तथा औषधि उपचारमा स्थानीय निकायबाट सहयोग नपाएको यहाँका किसानले गुनासोसमेत गर्दै आएका छन् ।
अन्न बालीभन्दा सुन्तला खेती गर्दा नगद आम्दानी हुन थालेपछि किसान सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । सिगानासँगै बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, दमेक र सर्कुवा लगायतका ठाउँ सुन्तला खेतीका लागि उर्वर मानिन्छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







