बागमतीमा मानवअधिकार उल्लङ्घनका ३३ उजुरी


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । बागमती प्रदेशअन्तर्गतका जिल्लामा गत आर्थिक वर्षमा मानवअधिकार उल्लङ्घनका ३३ उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोग प्रदेश कार्यालयले जनाएको छ ।

प्रदेशका १३ जिल्लामध्ये नौ जिल्लामा कूल ३३ मानवअधिकार उल्लङ्घनको विभिन्न किसिमका उजुरी सो कार्यालयमा परेको जनाइएको छ । कार्यालयका प्रमुख यज्ञ अधिकारीका अनुसार प्रदेशको सबैभन्दा बढी काठमाडौँ र ललितपुरमा मानवअधिकार उल्लङ्घनको उजुरी परेको बताए ।

दुवै जिल्लामा क्रमशः आठ र सात मानवअधिकार उल्लङ्घनको उजुरी परेको हो । प्राप्त विवरणअनुसार चितवनमा चार, नुवाकोटमा चार, सिन्धुपाल्चोकमा तीन, काभ्रेमा दुई, धादिङमा दुई, दोलखामा दुई र रामेछापमा एक वटा उजुरी परेको बताइएको छ ।

मकवानपुर, भक्तपुर, रसुवा र सिन्धुलीमा गत आर्थिक वर्षमा कुनै किसिमको मानवअधिकार उल्लङ्घनको उजुरी नपरेको सो कार्यालयले जनाएको छ । नेपालमा राष्ट्रिय मानवअधिकार आयोगमा परेका उजुरीमध्ये १० दशमलव पाँच प्रतिशतलाई मात्र कारबाहीको दायरामा ल्याइएको उनले बताए ।

आयोगमा उजुरी दर्ता गरे पनि कार्यावन्यनको पक्ष अत्यन्त फितलो भएकाले न्यायको अनुभूति कम हुने गरेको प्रमुख अधिकारीले बताए । साथै आम जनमानसमा मानवअधिकार आयोगको बारे विशेष जानकारी नहुँदा उजुरी कम पर्ने गरेको उनको भनाइ छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।