फिफा विश्वकप: अर्जेन्टिना र नेदरल्यान्ड क्वार्टरफाइनलमा


     एभरेस्ट आवाज    
     मंसिर १८ गते २०७९ मा प्रकाशित




विश्व फुटबल महारथी अर्जेन्टिना र नेदरल्यान्डले कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

शनिबार राति भएको नकआउट चरणको खेलमा अर्जेन्टिनाले अष्ट्रेलिया र नेदरल्यान्डले अमेरिकालाई हराउँदै क्वार्टरफाइनल चरणमा स्थान बनाएको हो।

कप्तान लियोनल मेसीले कीर्तिमान बनाएको खेलमा शनिबार अस्ट्रेलियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको हो।

लियोनल मेसीले ३५ औँ मिनेटमा गरेको गोलबाट अर्जेन्टिनाले कतारको अहमेद अलि बिन रंगशालामा भएको खेलमा अग्रता बनाएको थियो। १८ यार्ड बक्सभित्रबाट निकोलस ओटामेन्डीले मिलाएको बलमा मेसीले उत्कृष्ट फिनिसिङ गरे।

विश्वकपको नकआउट चरणमा मेसीले गरेको यो पहिलो गोल हो। यस्तै, जारी विश्वकपमा मेसीको यो तेस्रो गोल हो।

यो गोलसँगै विश्वकपमा २२ गोल पुर्‍याएका मेसीले यसअघि म्याराडोनाको नाममा रहेको अर्जेन्टिनाबाट विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए। यसअघि म्याराडोनाले विश्वकपमा अर्जेन्टिनाबाट २१ गोल गरेका थिए।

अर्जेन्टिनाका कप्तान मेसीको आजको खेल फुटबल करियरको १००० औँ खेल हो। मेसीले अर्जेन्टिनाबाट हालसम्म १६८ खेल खेलेका छन्।

अस्ट्रेलियाका गोलकिपरको गंभीर गल्तीको फाइदा उठाउँदै ५७ औँ मिनेटमा जुलियन आल्भारेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे। अस्ट्रेलियन गोलकिपर म्याथ्यु र्‍यानले ६ यार्ड बक्सभित्र नियन्त्रणमा लिन नसकेको बललाई आल्भारेजले सहजै गोल गरे।

खेलको ७७ औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजबाट आत्मघाती गोल भएपछि अस्ट्रेलियालाई २–१ को अवस्थामा फर्काएका थिए। १८ यार्ड बक्सबाहिरबाट अस्ट्रेलियाका क्रेग गुडविनले गरेको प्रहार फर्नान्डेजबाट डिफ्लेक्ट हुँदै गोल भएको थियो।

अर्जेन्टिना समूह ’सी’ को विजेता बन्दै नकआउटमा आएको हो। यता, अस्ट्रेलिया भने समूह ’डी’ को उपविजेता बन्दै अन्तिम–१६ मा आएको थियो।

जितसँगै अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्ससँगको भेट पक्का गरेको छ।

अमेरिकामाथि नेदरल्यान्डको सहज जीत

आजै भएको पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ।

नकआउट चरणको पहिलो खेलमा अमेरिकामाथि ३–१ गोलअन्तरले विजयी हुँदै नेदरल्यान्डसले क्वार्टरफाइनलमा स्थान बनाएको हो। पहिलो हाफमा २ गोल गरेको नेदरल्यान्डस्ले दोस्रो हाफमा १ गोल थप्यो।

कतारको खलिफा इन्टरनेसनल स्टेडियममा भइरहेको खेलको १० औँ मिनेटमा नै नेदरल्यान्डले अग्रता लिएको थियो। मेम्पिस डिपेले गोल गर्दै नेदरल्यान्डलाई अग्रता दिलाए।

यस्तै पहिलो हाफको अतिरिक्त समयमा दले ब्लिनले गोल गर्दै अग्रता दोब्बर बनाए।

खेलको ७६ औँ मिनेटमा हाजी राइटले गोल गर्दै अमेरिकालाई खेलमा फर्काउने प्रयास गरे पनि पर्याप्त भएन। तर त्यसको ५ मिनेटमै नेदरल्यान्डस्ले गोल थप्दै जित सुनिश्चित गर्‍यो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।