काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) ले तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा पार्टी नरहेको ठहर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले गठबन्धन फोड्ने वा तोड्ने पक्षमा आफूहरू नरहेको निष्कर्ष निकालेको हो ।
बैठकपछि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आजको बैठकमा विशेषगरी यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रारम्भिकरूपमा समीक्षा गरिएको जानकारी दिए ।
नयाँ सरकार गठनका सन्दर्भमा कुनै विषय नै प्रवेश नगरेको उल्लेख गर्दै उहाँले सत्तारूढ गठबन्धनको बैठक आह्वान गरेर समग्र पक्षमा छलफल गरिने बताए । महासचिव गुरुङका अनुसार गठबन्धनको बैठक सोमबारका लागि बोलाइएको छ । उनले भने, “गठबन्धनमा विमति पैदा भएको अवस्था पनि होइन, तोड्नुपर्छ वा फोड्न्पर्छ भन्ने कुरा पनि होइन । सरकार गठनको विकल्पमा उल्लेखनीय रूपमा विषय प्रवेश गरेको छैन । हामी विशेषगरी निर्वाचनको समीक्षाको पाटोमा केन्द्रीत छौँ ।”
बैठकले निर्वाचनसँग सम्बन्धित सबै पक्षलाई आभार प्रकट गरेको जानकारी दिए । उनले शनिबार र आजको बैठकमा निर्वाचनका सन्दर्भमा हाम्रा आफ्ना के कस्ता सीमा र के कस्ता कमी कमजोरी के के भए त्यसलाई सुधार गर्दै लगेर पार्टीलाई सशक्त बनाएर जाने विषयमा महत्वपूर्ण छलफल भएको बताए । सरकार गठनको सन्दर्भमा गठबन्धन घटकका बीचमा कुराकानी हुने जानकारी दिँदै उनले पार्टीभित्र त्यस सम्बन्धमा कुनै छलफल नै नभएको बताए ।
“हामी अहिले गठबन्धनमा छौँ । गठबन्धनको बैठक बस्नुपर्छ । निर्वाचनसँग जोडिएका सीमा र कमीकमजोरी के के भएका छन् । त्यसमा छलफल गर्नुपर्छ भन्ने भएको छ”, उनले भने । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







