मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ ।
आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी शुरु गरिएको हो । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले विसं २०७१ को मङ्सिरमा शुरु गरेको आयोजना आठ वर्षको अवधिमा सम्पन्न भएको हो । करीब ४ अर्ब रुपैयाँको लगानीमा निर्माण भएको आयोजनाबाट आजदेखि परीक्षण उत्पादन शुरु गरिएको आयोजना प्रमुख प्रताप खरेलले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरणको टोलीले परीक्षण उत्पादन र प्रसारण लाइनमा जडान गर्ने कार्यको अध्ययन गरिरहेको खरेलले जानकारी दिए । निर्माण थालेको तीन वर्षमा नै काम पूरा गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी र कोभिड–१९ को असरका कारण आयोजना पाँच वर्षपछि धकेलिएको हो ।
आयोजना प्रमुख खरेलका अनुसार परीक्षण उत्पादन शुरु गरेपछि उत्पादित विद्युत् १३२ केभी क्षमताको मोदी–लेखनाथ सबस्टेसनमा जडान गर्ने तयारी भइरहेको छ । १४ दिनसम्मको परीक्षणपछि मात्र केन्द्रीय प्रसारण लाइनमा जोडिने छ ।
आयोजनाको ड्याम, टनेल, पावर हाउस, टावर निर्माणलाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ, ती सबै काम पूरा भएका छन् । प्रसारण लाइनसमेतको निर्माण सकिएपछि परीक्षण उत्पादन थालिएको खरेलले बताए ।
शुरुआतमा २ अर्ब ८० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको आयोजनाको निर्माण चौधरी ग्रूपले गरेको हो । विसं २०७१ मा ग्रूपका अध्यक्ष विनोद चौधरीले आयोजनाको शिलान्यास गरेका थिए। तीन वर्षमा नै निर्माणको काम सकेर २०७४ मङ्सिरमा काम पूरा गर्ने लक्ष्य राखिएको भए पनि प्रभावित क्षेत्रका नागरिकको पटकपटकको आन्दोलन र विरोध तथा प्राकृतिक विपद्का कारण आयोजनाको काम लम्बिएको आयोजना प्रमुख खरेलले जानकारी दिए। त्यसका कारण लागतसमेत ह्वात्तै बढेको छ ।
पर्वतको मोदी गाउँपालिका–२ केङ्गामा पावर हाउस राखिएको आयोजनाको बाँध भने कास्कीको अन्नपूर्ण गाउँपालिका–३ वीरेठाँटीमा रहेको छ । आयोजनाको २ हजार ३९३ मिटर लामो सुरुङमा मोदी खोलाको पानी ल्याइनेछ । निर्माण शुरु गर्ने बेलामा १५ दशमलव १ मेगावाट क्षमतामा आयोजना सञ्चालन गर्ने भनिएको भए पनि निर्माण कार्य सँगसँगै क्षमता बढेर १८ मेगावाटमा पुगेको छ ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







