दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती योजना


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०७९ मा प्रकाशित





व्यास नगरपालिका–१० स्थित बैरेनीमा दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्तीका लागि योजना बनाउन लागिएको छ ।

उक्त क्षेत्रको कूल एक हजार पाँच सय ३७ रोपनीमध्ये पहिलो चरणमा उक्त क्षेत्रफलमा बस्ती निर्माण योजना प्रक्रिया अघि बढाइएको हो । सो आयोजनाका लागि नगर विकास कोषको ७० र नगरपालिकाको ३० प्रतिशत लगानी हुनेछ । कोषले रु नौ करोड १० लाख ५० हजार चार सय र अन्य रकम प्रदेश तथा नगरपालिकाले लगानी गर्ने छन् ।  

आयोजनाको विसं २०८० भित्र कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नगर विकास कोषसँग लिएको ऋण भुक्तानी गर्नुपर्ने अवधि छ वर्षको रहनेछ भने वार्षिक आठ प्रतिशत ब्याजदरमा ऋण लगानी गरिने कोषले जनाएको छ ।

उक्त क्षेत्रको कूल एक हजार पाँच सय ३७ रोपनीमध्ये पहिलो चरणमा दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती योजना निर्माण गर्ने लक्ष्य रहेको आयोजना प्रमुख इन्जिनियर रवीन्द्र मूलले जानकारी दिनुभयो । विसं २०७७ माघमा नगर विकास कोषको प्राविधिक सहयोगमा बैरेनी जग्गा एकीकरण विकास आयोजनाको सुरुआत गरी विसं २०७८ फागुन २ गते राजपत्रमा आयोजना स्वीकृतिको सूचना प्रकाशित भएपछि प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । 

नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने र नगर विकास कोष ९एनसेट० का कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले हस्ताक्षर गरी ऋण सम्झौता गर्नुभएको हो । दमौली बजार र भादगाउँ क्षेत्र बस्तीले साँघुरिँदै गएको अवस्थामा एकीकृत बस्ती बसाउन दीर्घकालीन सोचका साथ नगर विकास कोषसँग हातेमालो गर्दै नगरपालिका अघि बढेको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।