आज मंसीर शुक्ल (धान्य) पूर्णिमा

- किराँत समुदायको उधौली पर्व, नेवारी समुदायको य:मरि पुन्ही (ज्यापु दिवस)


     एभरेस्ट आवाज    
     मंसिर २२ गते २०७९ मा प्रकाशित




आज मंसीर शुक्ल पूर्णिमा अर्थात आजको एकै दिन प्रमुख पर्वहरु उधौली पर्व, धान्य पूर्णिमा, योमरी पुन्ही (ज्यापु दिवस) एकै दिन परेको छ।

हरेक वर्षको मंसीर पूर्णिमाका दिन विभिन्न जाति समुदायमा धान्य पूर्णिमा, उधौली पर्व, य:मरी पुन्ही, ज्यापु दिवस मनाइन्छ।

नयाँ धान भित्राइएको खुसियालीमा ‘धान्य पूर्णिमा’ मनाउने परम्परा छ। यो पर्वमा धानलाई विशेष महत्व दिइन्छ।

धानलाई लक्ष्मीका रूपमा पूजा गर्ने परम्परा छ।

भकारीमा भरेको धान कम नहोस् र धनधान्यले भरिभराउ होस् भन्ने उद्देश्यले मनाइने भएकाले यो पूर्णिमालाई ‘धान्य पूर्णिमा’ भन्ने प्रचलन छ।

नयाँ खाद्यान्न आफूले उपभोग गर्नुअघि सबैभन्दा पहिला कुल देवता, पितृ देवता र देवी–देवताहरूलाई अर्पण गरेपछि मात्र आफूले खाने परम्परा छ।

कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर नयाँ धानबाट चामलको खीर भोग लगाउने चलन छ।

उधौली पर्व

मंसीर शुक्ल पूर्णिमा (आज) को दिन किराँत समुदायले उधौली पर्व मनाउने गर्दछन्।

प्रकृतिपूजक किराँतहरुले मनाउने यो पर्व एउटा समय–सूचक पनि हो।

खेतीपाती एवं पशुपालन गर्ने किराँतका पूर्खाहरुले प्रकृतिसँग लय मिलाउँदै यो उत्सव मनाउन सुरु गरेका हुन्।
सुनुवार, राई, लिम्बु, याख्खा जातिले यो उत्सव मनाउने गर्छन्।

हरेक वर्षको मंसीर पूर्णिमाका दिनबाट सुरु हुने उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्राइएको खुसीयालीमा मनाउने गरिन्छ।

किराँत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ।

अन्नबाली भित्राउने बेला उधौली पर्व मनाइन्छ।
यो पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ।

किराँत जातीहरुको विशेष बाहुल्यता भएको क्षेत्रमा नेपाल सरकारले आजको दिन सार्वजनिक विदा समेत दिएको छ।

योमरी पूर्णिमा (य:मरी पुन्हि)

मंसीर शुक्ल पूर्णिमाको दिन आज नेवार समुदायले योमरी पूर्णिमा अर्थात य:मरी पुन्हि हर्षोल्लासका साथ मनाउँछन्।

नयाँ धान भित्राएको खुशियालीमा नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउने गर्दछन्। योमरी पूर्णिमालाई य:मरी पुन्हि पनि भनिन्छ।

नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा मनाउने गरिन्छ। योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ।

योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्दछन्। नुहाइ–धुवाइ र घरमा लिपपोत गरी योमरी पकाउने प्रचलन छ।

यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रुपमा समेत मनाउने गरेको हो।

य:मरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ।

आजको दिन नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन्।

गर्भवती भएका चेलीबेटीलाई गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुन भनेर उपहार पठाउने चलन पनि छ।

ज्यापु दिवस पनि

योमरी पुर्णिमा अर्थात य:मरी खाने आजको दिनलाई काठमाण्डौं उपत्यकाको नेवार समुदायभित्रको ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि मनाउने गर्दछन्।

आजको दिन नेवार जाति तथा समुदायले धिमेबाजा र बाँसुरी बजाउँदै सांस्कृतिक र्‍यालीसहित सभा गर्ने कार्यक्रम गर्दछन्।

नेवार जातीहरुको विशेष बाहुल्यता भएको क्षेत्रमा नेपाल सरकारले आजको दिन सार्वजनिक विदा समेत दिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।