रेवान पोखराको सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म हुने


     एभरेस्ट आवाज    
     मंसिर २२ गते २०७९ मा प्रकाशित




पोखरा, मंसिर २२

पोखरामा यस वर्षपनि सडक महोत्सव हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अंग्रेजी नया वर्षको अवसरमा आयोजना गर्दै आएको सडक महोत्सवले यस वर्षपनि निरन्तरता पाउने भएको हो । २४ औं श्रृंखलाका रुपमा हुने यो महोत्सव पुस १३ गतेदेखि १७ गतेसम्म हुने विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई ‘अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थल’ को रूपमा विकास गर्ने उद्देश्य राखेर महोत्सव आयोजना गरिएको रेवान पोखराले जनाएको छ । “सडकमै नाचौं, सडकमै खाउँ, सडकै रमाउँ” भन्ने नाराका साथ हुने महोत्सव लेकसाईडको तीन किलोमिटर क्षेत्रमा हुनेछ । खहरेदेखि हल्लनचोकहुँदै फिस्टेल गेटसम्मको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुने आयोजकको भनाई छ ।

कोरोनाको महामारीले एकवर्ष सडक महोत्सव आयोजना गरिएन । गतवर्ष केवल ३ दिनमात्रै सडक महोत्सव आयोजना गर्दै पर्यटनलाई उठाउने प्रयास रेवानले गर्यो । अहिले भने बिस्तारै कोरोनाको त्रास कम छ । ‘कोरोनाले सुस्ताएको पर्यटनलाई फेरी चलायमान बनाउने ध्येयसहित पाँचदिने सडक महोत्सवको तयारीमा छौं,’–रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले भने, ‘आन्तरिकसँगै बाह्य पर्यटन प्रवद्र्धनले पर्यटनमा नयाँ आशा र विश्वास लिएका छौं ।’

महोत्सव आयोजना हुन अब झण्डै तीनसाता बाँकी छ । महोत्सवको तयारी भने शुरु गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए । प्रचारप्रसारदेखि प्रायोजक खोज्नेलगायतका कार्यहरु अहिले भईरहेको उनको भनाई छ ।

रेवान पोखरोले सडक महोत्सवमा विभिन्न क्षेत्रको भेषभुष, कला सँस्कृतिलाई प्रस्तुत गर्दै आएको छ । यस वर्ष पोखराको सडकमा चीनियाँ कला सँस्कृतिसमेत प्रदर्शन गरिने रेवान पोखराले जनाएको छ । सातै प्रदेशको कला सँस्कृतिसहितको झाँकी प्रदर्शन गरिने छ। ‘मौसम खुलेको छ। हिमाल हाँसेको छ पर्यटक लोभ्याउने यो मौसममा हामी पर्यटनमैत्री बातावरणमा सभ्य र भन्वय महोत्सव गर्ने योजनामा छौं,’ रेबान पोखराका अध्यक्ष भट्टराईको भनाई थियो।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले सडक महोत्सव पोखराको पर्यटन चलायमान गराउन कोशेढुंगा सावित हुँदै आएको बताए । उनले होटल संघले ‘जाँउ है पोखरा’ अभियान र रेवान पोखराको ‘सडक महोत्सव’ले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने गरेको बताए । यस वर्षको सडक महोत्सवले कोरोनाले थला परेको पर्यटनलार्य लयमा फर्काउने विश्वास उनको छ । अध्यक्ष सुवेदीले सडक महोत्सवमै आन्तरिक पर्यटक ठगिएको गुनासो आउन नदिन मूल्य नियन्त्रण गरिने स्पष्ट पारे। ‘पाँचदिनको कमाईले वर्षदिन पुग्दैन’ उनले भने, ‘त्यसैले आन्तरिक पर्यटक पनि सचेत छन् । हामीले पनि होटलहरुको मूल्य नियन्त्रण गर्छौ।’

महोत्सवका लागि होटल बुकिङ शुरु भईसकेको आयोजकको दाबी छ । तर कोरोना अघिजस्तो अहिले होटल बुकिङ भने भईनसकेको होटल संघ पोखराका अध्यक्ष सुबेदीले बताए । ‘कोरोना अघि यही समयमा ४० प्रतिशतसम्म होटल बुकिङ भईसक्थ्यो,’ उनले भने, ‘तर अहिले २० प्रतिशत पनि बुकिङ भएको छैन्।’ उनले कोरोना अघि विदेशी पर्यटकको आगमन सन्तोषजनक रहेको भन्दै कोरोनापछि विदेशी पर्यटकको आगमन न्यून रहेको उल्लेख गरे ।

पाँचदिने महोत्सवमा साँस्कृतिक कार्यक्रम, रात्रीकालिन कन्सर्ट, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, झाँकी प्रदर्शन, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटर दौड, डुंगा दौड तथा डोरी तान(टग अफ वार) प्रतियोगिता जस्ता गतिविधि सञ्चालन गरिने छ । पाँचदिने महोत्सवमा तीन लाख दर्शकले अवलोकन गर्ने छन। ८५ लाख रुपैयाँ आम्दानी हुने छ। १० लाख रुपैयाँ बचत गर्ने लक्ष्य रेबान पोखराले लिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।